घाँस काट्न जङ्गल गएकी युवतीको गाडिएको अवस्थामा शव फेला

घाँस काट्न जङ्गल गएकी युवतीको गाडिएको अवस्थामा शव फेला

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • घाँस काट्न जङ्गल गएकी युवतीको गाडिएको अवस्थामा शव फेला

    काठमाडौं । चार दिनदेखि सम्पर्कविहीन भएकी गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाककी एक युवतीको मंगलबार शव फेला परेको छ ।

    यही मङ्सिर १५ गते शनिबार घाँस काट्न भनेर जङ्गल गएकी १८ वर्षीया सुचिना घलेको शव गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

    जङ्गलबाट सुचिना घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई जानकारी गराएको थियो । प्रहरी चौकी बारपाक र इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीले खोजतलासका क्रममा स्थानीय मैखर्कको जङ्गलमा खाल्डोमा पुरिएको अवस्थामा सुचिनाको शव फेला पारेको प्रनाउ सुवेदीले बताए ।

    युवतीको हत्या भएको अनुमान गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरासँग समन्वय गरी कुकुरसहितको विशेषज्ञ टोली अनुसन्धानका लागि घटनास्थलमा मंगलबार नै पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव पाठकले जानकारी दिए ।

    घटनास्थलमा जिप्रका गोरखाबाट डीएसपीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । घटनास्थल नजिकै डोको, रगत र कपालसमेत भेटिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij