काठमाडौं । मुआब्जा माग्दै स्थानीयले १० दिनदेखि ठप्प पारेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम मंगलबारदेखि सुरु भएको छ । सुरुङमार्गमाथिको घर र जग्गाको मुआब्जा माग्दै चन्द्रागिरि नगरपालिका–१ र २ का स्थानीयले गत मंसिर ९ देखि काममा अवरोध गरेका थिए ।
आयोजनाले आफूहरूको माग सम्बोधन गर्न मन्त्रिपरिष्दमा पठाएको जानकारी आएकाले पुस ५ सम्मका लागि बन्दको निर्णय फिर्ता लिइएको स्थानीयले बताए ।
करिब ६ महिनाअघि सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाले परामर्श दाता खटाएर सुरुङमाथि र आसपासका घरहरूको क्षतिको विवरण संकलन गरेको थियो । जसअनुसार सुरुङमाथिका ७ सहित १८ घरको पूर्ण क्षतिपूर्ति र ७५ घरको आंशिक क्षतिपूर्ति दिन सिफारिस गरिएको थियो ।
सुरुङमार्ग निर्माणका क्रममा कृषि उपजको क्षतिपूर्ति दिनसमेत सिफारिस गरिएको थियो । तर अहिलेसम्म निर्णय भएको छैन ।
०७६ कात्तिक ४ देखि निर्माण थालिएको सुरुङको प्रगति ८२ प्रतिशत छ । अहिले सुरुङभित्र लाइनिङको काम भइरहेको छ ।
फ्लाइओभर निर्माणको काम भने ९० प्रतिशत सकिसकेको आयोजनाले जनाएकाे छ ।
सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । २२ अर्ब रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । आपत्कालीन सुरुङको ‘ब्रेक थ्रु’ भने ०८० साउन २२ मा भएको थियो ।
यसको दूरी २५५७ मिटर छ । मुख्य सुरुङ २६८८ मिटरको ‘ब्रेक थ्रु’ भने ०८१ वैशाख ३ मा भएको हो । आयोजना सुरु भएयता ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएका छन् । बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटीपाखासम्म २.३०७ किमि दुई लेन सडक कालोपत्रको काम सकिने चरणमा छ ।