उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिका १२ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका नवीन कुमार वान्तवा राई फराकिलो मतान्तरले विजयी भएका छन् । राईले कुल खसेको २५ सय २७ मतमा ९ सय २३ मत ल्याउदै विजयी हाँसिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मी नारायण चौधरीले ६ सय ८ मत प्राप्त गरे । नेपाली काङ्ग्रेसका संजिव काफ्लेले ३ सय ५९ मत प्राप्त गर्दा एकीकृत समाजबादीका निर्मला चौधरीले ३ सय १२ र राष्ट्रिय स्वतन्त्र पार्टीका धुर्वप्रसाद पोखरेलले २ सय २ मत प्राप्त गरे।
आइतबार सम्पन्न त्रियुगा नगरपालिका १२ को उपनिर्वाचनको अन्तिम मतपरिणाम रातीनै सार्वजनिक भएको हो ।
उपनिर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित राई २०७९ को निर्वाचनमा भने तेस्रो मत सहित काङ्ग्रेसका चुडाराज काफ्ले संग पराजित भएका थिए । उपनिर्वाचनमा कांग्रेसबाट पराजित उमेदवार संजिव काफ्ले भने स्वर्गीय वडा अध्यक्ष चुडाराज काफ्लेका छोरा हुन् ।