काठमाडौं । जाजरकोटको नलगाड नगरपालिकामा ५४ प्रतिशत मत खसेको छ । उपप्रमुख पदका लागि भएको निर्वाचनमा दिउँसो २ बजेर ४० मिनेटसम्म ५४ प्रतिशत मतदान भएको हो ।
१६ वटा मतदानस्थल र २४ वटा मतदान केन्द्रमा ८ हजार ६ सय ९६ मत अर्थात ५४ प्रतिशतभन्दा बढी मतदान भइसकेको छ । यहाँ १६ हजार ४ सय ४९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जाजरकोटकै कुसे गाउँपालिका– ७ को वडाध्यक्ष पदका लागि पनि मतदान भइहरको छ । त्यहाँ दिउँसो २ः४० बजेसम्म ८ सय ७७ जनाले मतदान गरेका छन् ।
कुल १ हजार ३०२ मतदाता रहेको कुसे गाउँपालिका–७, मा निर्वाचनका लागि एक मतदानस्थल र दुई मतदान केन्द्र तोकिएको छ ।
नलगाडको उपप्रमुख पदमा लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट २०७९ को निर्वाचनमा निर्वाचित उपप्रमुख सरस्वती सिंहको २०८० कात्तिक १७ गते भूकम्पमा परी निधन भएको थियो ।