काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको १२ नम्बर वडामा मतदान जारी छ । हेटौंडा–१२ मा मतगणना आजै सुरु गरिने जनाइएको छ । ५ बजेसम्म मतदान गर्ने समय छ ।
राति ९ बजेटबाट मतगणना सुरु गरेर २ बजेभित्र सम्पन्न गरिसक्ने लक्ष्य मुख्य निर्वाचन अधिकृतको कार्यालयले राखेको छ । ३ वटा समूह बनाएर मतगणना गरिने जनाइएको छ ।
हालसम्म प्रतिभा आधारभूत विद्यालय सिग्रेनी र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा जारी मतदानमा १ बजेसम्म ४ हजार २ सय २३ मत खसेको छ ।
प्रतिभा आधारभूत विद्यालयको मतदानस्थलबाट १ हजार ६९ पुरुष र १ हजार ३ सय १३ महिला गरी २ हजार ३ सय ८० जनाले मतदान गरेका छन् ।
विष्णुज्योतीको मतदानस्थलबाट ८ सय ५८ पुरुष र ९ सय ८५ जना महिला गरी १ हजार ८ सय ४३ मत खसेको छ । कुल मतदाता ८ हजार ५३ जना रहेको १२ नम्बर वडामा आधाभन्दा बढी मत खसिसकेको छ ।
१२ नम्बर वडामा गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा विजयी भएका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बन्न गएपछि रिक्त वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि ९ वटा राजनीतिक दलबाट ९ जना र ३ जना स्वतन्त्र उम्मेदवार छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राजेश नगरकोटी, नेपाली कांग्रेसबाट अर्जुन तिवारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रविन प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रेमबहादुर भ्लोन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आशावीर बल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट बलराम बललगायतका उम्मेदवार छन् ।