नयाँबसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन

नयाँबसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन

शनिवार, मंसिर ८ २०८१
शनिवार, मंसिर ८ २०८१
  • नयाँबसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय पूर्ण कार्यान्वयन भएन

    काठमाडौं । राजधानी काठमाडौंबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन हुनसकेको छैन ।

    महानगरपालिकाले २०८० साल जेठ १९ गते सूचना प्रकाशित गरी २०८० असार १ गतेदेखि काठमाडौँभित्रका चक्रपथ वरपरबाट उपत्यका बाहिर सञ्चालन हुँदै आएका सवारीसाधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयन हुन नसकेको हो ।

    काठमाडौंको पेप्सीकोला, जडीबुटी, मनोहरा करिडोर, कोटेश्वर, तिलगङ्गा, बागमती करिडोर, गौशाला, चावहिल, जोरपाटी, धोबीखोला करिडोर, गोँगबु, विष्णुमती करिडोर, माछापोखरी, बालाजु, स्वयम्भू, कलङ्की र बल्खुलगायत चक्रपथ वरपर सडक तथा करिडोरबाट सञ्चालन हुँदै आएका सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन गर्ने निर्णय गरिएको थियो । 

    वडा नं २६ गोँगबुस्थित विष्णुमति नदी किनारामा रहेको आफ्नै स्वामित्वको १ सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँबसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने भनिएकामा केही सार्वजनिक सवारीसाधनले पालना केहीले भने अझै अटेर गरिरहेका छन् ।

    नयाँबसपार्कको छेउमै रहेको माछापोखरीको आसपासबाट सार्वजनिक सवारीसाधन सञ्चालन भइरहे पनि उक्त सवारीसाधनलाई आफ्नै स्वामित्वमा रहेको नयाँबसपार्कभित्र ल्याउन महानगरपालिकाले सकिरहेको छैन । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर यातायात व्यवसायीको ‘सिन्डिकेट’का कारण नयाँबसपार्कबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्न समस्या भइरहेको बताए । “हामीले सूचना जारी गरेर सबै सार्वजनिक सवारीलाई अनिवार्य रूपमा नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने भनेका थियौँ तर यातायात व्यवसायीको सिन्डिकेटका कारण उक्त निर्णय कार्यान्वयनमा समस्या देखिएको छ”, उहाँले भन्नुभयो । महानगरपालिकाले उक्त सूचना निकालेपछि काठमाडौँबाट पोखरा, चितवन, बुटवललगायत क्षेत्रमा सञ्चालन हुने ठूला तथा माइक्रोबस नयाँबसपार्कबाट सञ्चालन हुन थालेका छन् ।

    महानगरपालिकाका नगर प्रहरी प्रमुख (एसएसपी) राजुनाथ पाण्डे महानगरपालिकाले गरेको सूचना कार्यान्वयनको चरणमा रहेको बताए । “उक्त निर्णयपछि केही सार्वजनिक सवारीसाधन नयाँबसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन्, बाँकी सवारीसाधन पनि चाँडै नै प्रक्रियामा आउँछन्”, उनले भने ।

     नगर प्रहरी प्रमुख पाण्डेले काठमाडौँ महानगरपालिकाभित्र  यातायातलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न महानगरले नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायी तथा मजदुरसँग सहकार्य गरिरहेको बताए ।

    यसअघि महानगरपालिकाले चक्रपथको वरपर जथाभावी रूपमा सञ्चालन भएका एक सयभन्दा बढी बस टिकट काउण्टर हटाएको थियो । नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिले बसपार्कभित्र टिकट काउन्टरसमेत निर्माण गरिसकेको छ ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला काठमाडौँभित्र सार्वजनिक सवारीसाधनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न व्यवसायी तयार रहेको बताउनुहुन्छ । “व्यवसायी र सरकार दुवैलाई सहज हुने ढङ्गले सार्वजनिक सवारीसाधन सञ्चालन गर्नुपर्छ”, उनले भने ।
     
     काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमाप्रसाद चतुर्वेदी चक्रपथ वरपर तथा करिडोरमा अवैध रूपमा पार्किङ गरेर राखिएका सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको बताउनुहुन्छ । “काठमाडौँ महानगरपालिकाले ‘एक बसपार्क नीति’ लिएको छ, यसलाई कार्यान्वयन गर्न ट्राफिक प्रहरीले सहयोग गर्दै आएको छ”, उनले भने ।

     लामो तथा छोटो दूरीका सवारीसाधन गोङ्गबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन गर्ने महानगरपालिकाको निर्णयले काठमाडौँभित्रको सवारी व्यवस्थापनलाई सहज हुने उनको भनाइ थियो ।
     
    काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधनलाई व्यवस्थित तथा पार्किङ गर्न महानगरपालिकाले नयाँबसपार्क सञ्चालन गरेको हो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको बसपार्कमा आठ सयको हाराहारीमा सार्वजनिक सवारीसाधन राख्न सकिन्छ । हाल तीन सयदेखि चार सयको हाराहारीमा मात्र सवारीसाधन पार्किङ गरी विभिन्न जिल्लामा आवतजावत हुँदै आएका छन् ।

    ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौं उपत्यकामा झण्डै १२ लाख सवारीसाधन सञ्चालनमा छन् । पछिल्लो समय मुलुकको राजधानी काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारीसाधनको सङ्ख्या वृद्धि हुँदा र बाटो साँघुरो हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij