काठमाडौं । आज काठमाडौंको दरबारमार्गमा हुने जागरणसभाका लागि सत्तारुढ दल नेकपा (एमाले)को र्याली सुरु भएको छ । आज अपरान्ह १२ बजे भद्रकालीबाट र्याली सुरु भएको हो ।
एमालेले एक लाख मानिस उतार्ने दाबी गरेको थियो । तर र्यालीमा १० हजार मानिस पनि देखिएका छैनन् ।
भद्रकालीबाट सुरु भएको र्याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने कार्यक्रम छ । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।
एमाले अध्यक्ष ओली कार्यक्रम स्थलमा दिउँसो १:३० बजे पुग्ने कार्यक्रम रहेको छ । र्यालीको नेतृत्व नेकपा (एमाले) वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गरेका छन् ।
जागरणसभाको संयोजकको जिम्मेवारी पाएका एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा राजन भट्टराई पार्टी कामको सिलसिलामा देश बाहिर गएकाले जिम्मेवारी ढुङ्गेलले सम्हालेका छन् ।
र्यालीमा बाजागाजासहित पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरू छन् । एमालेले आजको सभामा एक लाखभन्दा बढीको मानिस उपस्थिति गराउने लक्ष्य लिएको छ ।