काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन रोक्न र यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्वाचन आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । यही मंसिर १६ गतेलाई तय भएको स्थानीय तहको उपनिर्वाचनमा आचारसंहिता कडाइका साथ पालना गराउन आयोगले मन्त्रालयलाई निर्देशन दिएको हो ।
मंगलबार बसेको आयोगको बैठकले उपनिर्वाचन हुने ३३ जिल्लाका ४४ स्थानीय तहमा मंसिर २ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७९ को पालनामा कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले बताइन् ।
उनका अनुसार आयोगले जिल्ला आचारसंहिता अनुगमन समितिलाई आचारसंहिता उल्लंघनमा तुरुन्त कारबाही गर्न, सुरक्षा निकायमार्फत आवश्यक सूचना संकलन गर्न र उल्लंघन सम्बन्धी कुनै पनि विषयमा तत्काल प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
राजनीतिक दल तथा उम्मेदवारहरूले गर्ने जुलुस, आमसभा, कोणसभा, सवारी साधनको प्रयोग, सञ्चारमाध्यमको उपयोग र निर्वाचन खर्च सम्बन्धी विषयमा दैनिक विवरण संकलन गर्ने व्यवस्था मिलाउन समेत भनिएको छ ।
संघीय र प्रदेश सरकारका मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीहरू आयोगको अनुमति बिना निर्वाचन क्षेत्रमा उपस्थित भएको वा प्रचारप्रसारमा संलग्न भएको पाइएमा आचारसंहिता उल्लंघन अन्तर्गत तुरुन्त छानबिन गरी कारबाही गर्न आयोगले निर्देशन दिएको छ ।
यस्तो अवस्थामा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ बमोजिम कारबाही थाल्न र कुनै द्विविधा उत्पन्न भएमा आयोगलाई जतिसक्यो छिटो जानकारी गराउन पनि निर्देशन दिइएको छ ।
आयोगले अनुगमन समितिलाई आचारसंहिता उल्लंघन सम्बन्धी कुनै पनि विषयमा ढिलाइ नगरी टेलिफोन, एसएमएस वा इमेल जस्ता माध्यमबाट सूचना संकलन गरी आवश्यक निर्णय लिन आग्रह गरेको छ ।
निर्वाचन आचारसंहिताको पालना निर्वाचन प्रक्रियाको निष्पक्षता र पारदर्शिताका लागि अनिवार्य रहेको आयोगका प्रवक्ता पोखरेलले बताइन् ।