राजस्वमा चौधरी ग्रुपको योगदान साढे १८ अर्ब

राजस्वमा चौधरी ग्रुपको योगदान साढे १८ अर्ब

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • राजस्वमा चौधरी ग्रुपको योगदान साढे १८ अर्ब

    काठमाडौं । चौधरी ग्रुपअन्तर्गतका कम्पनीहरूले एक वर्षमा सरकारलाई करिब साढे १८ अर्ब रूपैयाँ राजस्व तिरेका छन् । आर्थिक वर्ष २०८०/८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको चौधरी ग्रुपले जनाएको छ ।

    आर्थिक वर्ष २०७९/८० को तुलनामा चौधरी ग्रुपले पछिल्लो आर्थिक वर्षमा राजस्वमा पुर्‍याएको योगदान दुई अर्ब ३८ करोड रूपैयाँले बढी हो । आर्थिक वर्ष २०७९/८० मा ग्रुपले १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको थियो ।

    गत पाँच वर्षको अवधिमा चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रूपैयाँ कर तिरेको जनाएको छ । आर्थिक वर्ष २०७६/७७ मा नौ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड, २०७९/८० मा १६ अर्ब १४ करोड, २०८०/८१ मा १८ अर्ब ५२ करोड रूपैयाँ कर सरकारी ढुकुटीमा दाखिला गरेको जनाएको छ ।

    आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको, व्यावसायिक वातावरण सुमधुर नरहेको, उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको अवस्थामा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको छ ।

    आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको अवस्थामा पनि चौधरी ग्रुपको योगदान भने अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा १५ प्रतिशतले वृद्धि भएको छ ।

    ‘राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूल वातावरणबीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउन सकेको चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले बताए । ‘राष्ट्रिय अर्थतन्त्रको बिस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित महसुस गरेका छौं,’ चौधरीले भने । नयाँ व्यवसाय वृद्धिका माध्यमद्वारा नेपालको राष्ट्रिय अर्थतन्त्रमा सन्तोषजनक योगदान गर्न सकिएको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij