काठमाडौं । प्रेस चौतारी नेपालले मंसिर ७ गते नेकपा एमालेले आयोजना गर्ने जागरण सभामा अनिवार्य उपस्थित हुन सम्पूर्ण सदस्यलाई आव्हान गरेको छ । अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सोमवार बसेको वैठकले अराजकता र अस्थिरताबिरुद्ध मंसीर ७ गते आयोजना गरिएको जागरण सभा सफल पार्न दृढतापुर्वक लाग्ने निर्णय गरेको हो ।
एमाले स्थायी कमिटीका सदस्य एवं प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले मंसीर ७ को जागरण सभालाई ब्यापक जनसहभागिताका लागि बिशेष योजनासमेत बनाएको जनाएको छ ।
सभा अराजकता फैलाउन चाहने देशी बिदेशी षडयन्त्रबिरुद्ध निर्णायक हुने भन्दै प्रेस चौतारीले मुलुकको हितमा आयोजित सभालाई सफल पार्न सवै शक्ति परिचालन गर्ने निर्णय गरेको महासचिव हिरामान लामाले बताए । बैठकले जागरण सभामा सहभागी हुन सवै उपत्यकावासीलाई अपिल गर्दै सक्रिय सहभागी हुन र तोकिएको जिम्मेवारी पूरा गर्न प्रेस चौतारीका पदाधिकारीदेखि केन्द्रीय समिति, आयोग, प्रदेश समिति, जिल्ला समिति र सदस्यहरुलाई निर्देशन दिएको छ ।

यसैगरी बहाना बनाएर जागरण सभामा सहभागी नहुने संगठनका सदस्यको रेकर्ड राखेर सवै सदस्यको बीचमा सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ । बैठकमा एमाले नेता तथा इञ्चार्ज राजेन्द्र गौतमले जागरण सभाको महत्व देशभरका जनतामाझ स्थापित गराउन प्रेस चौतारीको निर्णयक भूमिकाको अपेक्षा गरिएको बताए ।
बैठकमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले संगठन र पार्टीको काममा कँही कतै नभेटिने तर नेताको वरिपरि घुमेर संगठनको नेता बनिरहने प्रबृत्ति मौलाएको भन्दै अव कडाईका साथ प्रस्तुत हुने बताए । अध्यक्ष बस्नेतले पार्टी र संगठनको काममा नभेटिनेलाई अव संगठनबाट बिदा गर्ने योजना सुनाउँदै जागरणसभामा अनिवार्य उपस्थित हुन र गराउन निर्देशन दिए ।
निर्वाचन र आन्दोलनको बेला भाउ खोज्ने र बहानाबाजी गरेर आफ्नो स्वार्थपुर्तिमा लाग्नेहरु अव संगठनबाट बिदा हुनका लागि तयार रहनुपर्ने बस्नेतको भनाइ थियो ।बैठकमा केन्द्रीय कमिटीका सदस्यसहित बागमति प्रदेश, उपत्यका प्रदेश र प्रतिष्ठान प्रदेश र एशोसियट प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र अगुवा नेताहरुको उपस्थिति रहेको थियो ।