उद्घाटन गरिएको दोस्रो दिन नै बन्द भयो कोरला अध्यागमन कार्यालय

उद्घाटन गरिएको दोस्रो दिन नै बन्द भयो कोरला अध्यागमन कार्यालय

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • उद्घाटन गरिएको दोस्रो दिन नै बन्द भयो कोरला अध्यागमन कार्यालय

    काठमाडौं । आवश्यक तयारी बिना नै उद्घाटन गरिएको लोमन्थाङ गाउँपालिका–१ नेचुङस्थित कोरला अध्यागमन कार्यालय अर्को दिन देखिनै बन्द छ । कात्तिक १४ गते बिहान गृहमन्त्री रमेश लेखक नेतृत्वको जम्बो टोली पुगेर तामझामसहित कार्यालय उद्घाटन गरेका थिए । तर उद्घाटनको भोलिपल्टदेखि नै कार्यालय बन्द छ ।

    उद्घाटनको अर्कोदिन देखि तिहार बिदा परेको थियो । तिहारपछि अहिलेसम्म पनि कार्यालय खुलेको छैन । अध्यागमन कार्यालयमा खटाएका कर्मचारी चिसो बढेकोले अब बैशाखबाट कार्यालय खोल्ने भन्दै घर फर्केका छन् ।

    समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाईमा रहेको कोरला नाकास्थित अध्यागमन कार्यालयमा सरकारले १ जना अध्यागमन अधिकृत, २ बरिष्ठ अध्यागमन सहायक, १ सहायक लेखापाल, २ सहायक कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीसहित ८ जनाको दरबन्दी कायम गरी कर्मचारी खटाएको थियो ।

    कोरलास्थित अध्यागमन कार्यालय मात्र होइन नाकादेखि १२ किलोमिटर तल नेचुङमा सशस्त्र प्रहरीको वीओपीसँगै रहेको भन्सार कार्यालय पनि अहिले बन्द छ । कोरला नाकास्थित नेपाली अध्यागमन र भन्सार कार्यालय बन्द गरिए पनि चिनियाँ अध्यागमन कार्यालय खुला रहेकोले नेपाली ब्यापारी सीमापारि तिब्बत पुगेर दैनिक उपभोग्य र व्यापारिक सामान ल्याउने गरेका छन् ।

    कोरोला नाका व्यवसायिक रुपमा खुल्ला भएसँगै उपल्लो मुस्ताङका लोमन्थाङ र लोघेकरदामोदर कुण्ड गाउँपालिकाका बासिन्दाले परिचय पत्रका आधारमा तिब्बत तर्फ ३० किलोमिटर परसम्मका बजारमा आउजाउ गर्न पाइने व्यवस्था अनुसार सीमापारि गएर सामान ल्याउने गरेका हुन् ।

    उता, चीनले कोरला नाका औपचारिक खुल्ला भएको अवसरमा वार्षिकोत्सव मनाएको छ । कात्तिक २८ गते मुस्ताङस्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र जनप्रतिनिधिहरुलाई तिब्बतको झोम्बा काउन्ट्रीमा आमन्त्रण गरी उत्सव मनाएको थियो ।

    गत वर्ष कात्तिक २८ गते कोरोला नाकाको चीनको सिगात्से प्रान्तको झोम्बा काउन्ट्रीका मेजेष्ट्री नुर्वु छिरिङ र नेपालको गण्डकी प्रदेश अर्न्तगत मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उद्घाटन गरेका थिए ।

    गण्डकी प्रदेशमा पर्ने पूर्वी नवलपरासीको गैंडाकोटबाट ४ सय ३५ किमी लामो कालीगण्डकी करिडोर कोरला नाकामा पुगेपछि तिब्बतको झोङ्वा काउन्ट्री हुँदै २० किमीपर सिगात्सेबाट आएको ‘चाईना नेसनल हाईवे २१९’ सँग जोडिन्छ । मुस्ताङ चीनको स्वसाशित तिब्बतसँग १८–३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अर्न्तरष्ट्रिय सीमा जोडिएको छ ।

    कोरोला नाकामा चिनियाँ अध्यागमनको आमने–सामने हुने गरी भन्सार प्रयोजनका पूर्वाधार निर्माण गर्न एक हजार रोपनी जग्गा अधिग्रहण गरिएको भए पनि पूर्वाधार भने बनेका छैनन ।

    नेपाल र चीनलाई सडक सम्पर्कले जोड्ने केरुङ र तातोपानी नाकापछि कोरोला तेस्रो नाका हो । नेपाल–चीन बीच सात वटा द्विदेशीय व्यापारिक नाका (ताप्लेजुङको अलाङचुङगोला, संखुवासभाको किमाथाङ्का, दोलखाको लामाबगर, गोर्खाको लार्के, हुम्लाको यारी र मुगु) पनि छिट्टै खोल्ने सहमति छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij