काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमुलमा हत्या गरिएका व्यक्ति स्नुकर हाउसका सञ्चालक रहेको खुलेको छ । लक्ष्मी बान्तवाको घरको भुइँतल्लामा ४० वर्षीय रुपक बान्तवाले ‘टाइमपास स्नोकर हाउस’ सञ्चालन गर्दै आएका थिए ।
आफ्नै स्नुकर हाउसमा उनीमाथि आक्रमण भएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति पौने २ बजेतिर उनीमाथि धारिलो हतियार तथा फलामजन्य वस्तुबाट आक्रमण भएको जस्तो देखिएको प्रहरीले जनाएको छ । एक महिलाले घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरलाई फोनमार्फत जानकारी गराएकी थिइन् ।
राति १ः५० मा प्रहरी वृत्त नयाँ बानेश्वरको टोली घटनास्थलमा पुगेको थियो । त्यति बेला उनी सोफामा उत्तानो परेको अवस्थामा अचेत भेटिएका थिए । उनलाई उपचारका लागि सिभिल अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेको हो ।
प्रहरीलाई घटनाबारे जानकारी गराउने महिला बान्तवाकै होटल र स्नुकर हाउसमा काम गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । ती महिलाले प्रहरी समक्ष एक व्यक्ति भाग्दै गरेको देखेको समेत बताएकी छिन् ।
प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अहिले तीन वटा युनिटले एकसाथ अनुसन्धान अघि बढाएका छन् । वृत्त नयाँ बानेश्वरका साथै जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।