काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रहरीले गंगालाल अस्पताल अगाडि थरमसमा चिया बेच्न बसेका एक व्यक्तिलाई लछारपछार गरेको छ ।
आइतबार बिहान चिया बेच्न दुइटा थरमस बोकेर गंगालाल अस्पतालको गेटअगाडि पुगेको उक्त व्यक्तिलाई महानगर प्रहरीले लछारपछार गरेको भिडिओ सामाजिक सञ्जाल एक्स लगायतमा आइरहेका छन् ।
चियाका कपहरू जथाभावी फाल्दा फोहोर बढ्यो भन्ने स्थानीयको गुनासोअनुसार महानगर प्रहरी त्यहाँ पुगेको नगरप्रहरीको भनाइ रहेको छ ।
आइतबार बिहान पनि गंगालाल अस्पतालनजिकै पुग्दा सडक अवरोध गरेर चिया बेचिरहेको देखेपछि ती व्यक्तिलाई नियन्त्रणमा लिनुपरेको नगर प्रहरीको दाबी छ। नियन्त्रण लिने क्रममा ती व्यक्ति दुई प्रहरीमाथि नै जाइलागेको थिए । साे पछि उनलाई नगर प्रहरीले भ्यानमा बसाउन खाेजकाे जनाइएकाे छ ।
सामाजिक सञ्जालमा नगर प्रहरीलाई कुटेको भिडिओ नहाली पछि भ्यानमा बसाउन खोजेको मात्रै भिडिओ हालेर नगर प्रहरीलाई बदनाम बनाउन खोजेको दाबी पनि गरेका छन्।
चिया बिक्री गर्ने व्यक्तिको नाम महानगर प्रहरीले खुलाएको छैन भने उनलाई महानगरको जरिवाना शाखामा लैजाने तयारी रहेको महानगर प्रहरीले जनाएको छ।