बाँके । बाँकेको जानकी गाउँपालिका–३ कोरियनपुरस्थित दुईवटा बिजुली पसलमा भीषण आगलागी हुँदा करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
नेपालगन्ज बजारसँग जोडिएको कोरियनपुरस्थित जेएस स्कुल नजिकै रहेका जय हनुमान ट्रेड एण्ड सप्लायर्स र लक्ष्मी बिजुली भण्डारमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार प्रारम्भिक अनुसन्धानमा विद्युतीय अनियमितताका कारण आगलागी भएको पाइएको छ ।
आगलागी नियन्त्रणका लागि चारवटा दमकल परिचालन गरिएको थियो । करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको राठौरले जानकारी दिए ।
आगलागीबाट दुवै पसलमा रहेका अधिकांश विद्युतीय सामान जलेर नष्ट भएका छन् । प्रारम्भिक अनुमानअनुसार करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको भए पनि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
स्थानीयवासी लक्ष्मीपूजामा व्यस्त रहेका बेला आगलागी भएको थियो ।