रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित

रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित

शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित

    काठमाडौं । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ । शनिबार राति त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न वर्षाले प्रभावित खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको हो ।

    वर्षाका कारण २० ओभरबाट घटाएर पाँच ओभरमा खेलाइएको प्रतिस्पर्धामा विराटनगरले पहिले ब्याटिङ गर्दै दुई विकेटको क्षतिमा १०५ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो ।

    विराटनगरका लागि शेहान जयसूर्याले सर्वाधिक ३९ रन बनाए । उनले ११ बलमा पाँच छक्का र दुई चौका प्रहार गरे । आन्द्रे रसेलले १० बलमा तीन छक्का र दुई चौकाको मद्दतमा अविजित २९ रन बनाए भने लोकेश बमले पनि १० बलमा तीन छक्का र एक चौकासहित २९ रन जोडे ।

    लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले पहिलो बलमै शेरफान रदरफोर्डलाई गुमाएको थियो । विराटनगरका रसेलले उनलाई खाता खोल्न नदिई पवेलियन फर्काए । त्यसपछि कप्तान दीपेन्द्र सिंह ऐरी पनि पाँच बलमा एक रन बनाएर आउट भएपछि सुदूरपश्चिम दबाबमा परेको थियो ।

    सुदूरपश्चिमका स्कट कुगेलेइनले सात बलमा चार छक्का र एक चौकासहित अविजित २८ रन बनाए । आरिफ शेखले आठ बलमा दुई छक्कासहित अविजित १७ रन जोड्दा सैफ जैबले १० बलमा दुई छक्काको मद्दतमा १७ रन बनाए । तर, उनीहरूको आक्रामक ब्याटिङ टोलीलाई जित दिलाउन पर्याप्त भएन ।

    बलिङतर्फ विराटनगरका आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र रुपेश सिंहले समान एक विकेट लिए । रसेलले बलिङमा एक विकेट लिनुका साथै एक क्याचसमेत लिएर अलराउन्ड प्रदर्शन गरे ।

    त्यसअघि टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पहिले बलिङ गर्ने निर्णय गरेका थिए । विराटनगरका ओपनर जयसूर्याले पहिलो ओभरमै श्रीलंकाली स्पिनर थरिन्दु रत्नायकेविरुद्ध पाँच छक्का प्रहार गरेपछि टोलीले एकै ओभरमा ३५ रन जोडेको थियो । विराटनगरले आठ बलमै अर्धशतक पूरा गर्दै आक्रामक सुरुवात गरेको थियो ।

    जयसूर्या तेस्रो ओभरमा अभिनाश बोहराको बलमा एलबीडब्लु आउट भए । अम्पायरले सुरुमा आउट नदिए पनि रिभ्युबाट उनको विकेट गएको थियो । त्यसपछि रसेल र लोकेश बमले आक्रामक ब्याटिङ गर्दै विराटनगरलाई १०५ रनको विशाल योगफलसम्म पुर्‍याए ।

    वर्षाका कारण खेल निर्धारित समयभन्दा निकै ढिला सुरु भएको थियो । साँझ पाँच बजेका लागि तय भएको खेल मैदानमा पानी जमेकाले प्रभावित भएको थियो । लामो प्रतीक्षापछि राति नौ बजेपछि खेल सुरु भएको थियो ।

    यो जितसँगै तीन खेलबाट दुई अंक जोडेको विराटनगरले प्रतियोगितामा जितको खाता खोलेको छ । यसअघि विराटनगर चितवन राइनोज र कर्णाली याक्ससँग पराजित भएको थियो ।

    पराजित सुदूरपश्चिमको पनि तीन खेलबाट दुई अंक नै छ । सुदूरपश्चिमले यसअघि लुम्बिनी लायन्ससँग हार बेहोरेको थियो भने पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।

    यसैबीच, शनिबार नै हुने भनिएको लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीचको खेल वर्षाका कारण हुन सकेन । खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij