दिवस गुरागाईं । संस्मरण
ठ्याक्कै यसपालिको दशैं अघि मधेसतिर लागियो, एउटा चिहान खोज्न ।
चिहान पनि सामान्य मानिसको होइन, नेपालको इतिहासमा अत्याधिक चर्चा गरिने शक्तिशाली र विवादास्पद पात्रमध्ये एक श्री ३ जंगबहादुर राणाको । जसले सुरुवात गरेको जहानीया राणा शासन एक सय तीन बर्ष चलेको कुरा हामीले पढेकै हौं ।
इतिहासमा पढेको अर्को कुरा, ‘जंगबहादुरको अन्त्य रौतहटको पत्थरघट्टामा भएको थियो ।’ लोकसेवाको तयारी गर्नेहरूले पनि कण्ठस्थ पारेको उत्तर यही हो- ‘रौतहटको पत्थरघट्टा ।’
रौतहट जिल्ला धेरैपटक टेकिएकै थियो । तर जंगबहादुरको मृत्यु भएको भनिएको पत्थरघट्टा पुग्ने अवसर जुरेको थिएन । यसपटक भने त्यही ठाउँ खोज्ने निधो भयो, हामी चार भाइको ।
चिहान खोज्ने भ्रमण दलका चार भाइमा वरिष्ठ पत्रकारद्वय प्रदीप चापागाई र पेशल आचार्यं, राष्ट्रिय समाचार समितिका पत्रकार अशोक घिमिरे र म थियौँ । हामीलाई गन्तव्यतर्फ लैजाने जिम्मेवारी श्रीकृष्णजीको थियो । हाम्रो यो यात्रा इतिहासको एउटा चर्चित तथ्यलाई आफ्नै आँखाले हेर्ने प्रयास थियो ।
किताबमा पढेको ठाउँ कस्तो होला ? जंगबहादुरको मृत्यु भएको भनिएको स्थानमा के बाँकी होला ? उनको चिहान होला कि कुनै स्मारक ? मनमा यस्तै जिज्ञासा थिए ।
पेशल दाइ घुम्न भनेपछि हुरुक्कै हुने । घुमेर ७७ जिल्ला नै पूरा गरिसक्नुभएका दाइको घुमफिरप्रतिको उत्साह लोभलाग्दो छ । प्रदीप दाइको आफ्नै किसिमको विशेषता छ । शालीन व्यक्तित्वका धनी उहाँ यात्रालाई रमाइलो बनाउन जान्नुहुन्छ । उहाँसँग टेलिभिजन पत्रकारितामा आधा जिन्दगी विताएको अनुभव छ । आर्थिक पत्रकारिता क्षेत्रको त उहाँ एउटा अग्लो हिमाल नै हो । अर्का सदस्य अशोकजी भने जहाँ पुगे पनि सधैं गम्भीर, शान्त र शीतल स्वभावका । उमेरले कान्छा भए पनि परिपक्व लाग्ने उहाँको अर्को अतुलनीय विशेषता हो ।
मचाहिँ यसपटक साँच्चिकै जंगबहादुरको चिहानसम्म पुग्न पाइन्छ कि पाइँदैन भन्ने कौतूहलमा थिएँ । किन हो अचेल यस्ता कुरामा बढी नै ध्यान जान थालेको छ ।
काठमाडौंबाट हेटौँडाको बाटो निश्किने निधो भयो । साविक हेटौँडा सिमेन्टको क्वार्टर रहेको ठाउँ, अहिले प्रदेशका मन्त्रीहरूको आवास क्षेत्र । त्यहाँ पार्टीसँग विद्रोह गरेर मन्त्री बनेका तर सरल स्वभावका एक नेताको निवासमा पुग्यौँ । उनी प्रदीप दाइका लगौटिया रहेछन् । उनी र बागमती प्रदेशका मुख्यमन्त्रीसँगको छोटो भेटपछि हामी गन्तव्यतिर लाग्यौँ । मिसन पत्थरघट्टा...
हेटौडादेखि पत्थरघट्टासम्म
हेटौडाबाट अघि बढेपछि पत्थरघट्टाको खोजी सुरु गरियो । तर पहिलो गाँसमै ढुंगा लागो ।
गुगल नक्सामा रौतहटको पत्थरघट्टा भेटिएन । स्थानीयसँग सोध्दा पनि स्पष्ट जानकारी पाइएन । बाटोमा भेटिएका भद्रभलादमीले पनि हामीलाई गन्तव्यसम्म पुग्ने स्केच दिन सकेनन् ।
टोलीमा खोजी अभियानको जिम्मा स्वाभाविक रूपमा अशोकजीलाई थियो । मोबाइल र इन्टरनेटको सहायताले ठाउँ खोज्न सिपालु अशोकजी । मोबाइल हातमा लिएर कहिले यता खोज्ने कहिले उता । म पनि आफ्नो ज्ञान, अनुमान र सम्झनाका आधारमा खोजिरहेकै थिएँ ।
तर जति खोजे पनि रौतहटमा पत्थरघट्टा भेटिएन ।
यहीक्रममा पेशल दाइले रौतहटमा वरिष्ठ पत्रकार शिव पुरीलाई फोन गर्नुभयो । दुई-अढाई दशकदेखि पत्रकारितामा सक्रिय शिवजीबाट यसको जवाफ आउनेमा ढुक्क हुँदैथिएँ ।
‘शिवजी, पत्थरघट्टा कहाँ पर्छ ?’ उताबाट आएको जवाफले हामी सबैलाई आश्चर्यमा पार्यो । रौतहटमा ‘पत्थरघट्टा’ भन्ने ठाउँ शिवजीलाई थाहा नै भएन ।
अब हामीलाई स्थानीय भूगोलसँग राम्रो परिचय भएका पत्रकारसँगै बसेर कुरा गर्न मन लाग्यो । त्यही भएर उहाँकै घरमा पुग्ने निधो गरिउँ। समय लियौं । शिवजीको घर पुगेर केहीबेर प्रतीक्षा गरिउँ। शिवजी आएपछि हामीले फेरि उही प्रश्न राख्यौँ -‘जंगबहादुरको मृत्यु भएको ठाउँ कहाँ हो ?’
शिवजीको जवाफले यात्राको दिशा नै बदलिदियो । जंगबहादुरको मृत्यु भएको ठाउँ रौतहटमा नभई सर्लाहीमा हुन सक्ने अनुमानले हामी तीन छक्क पर्यौं ।
अब प्रश्न केवल बाटो पत्ता लगाउने थिएन । हामीले वर्षौंदेखि पढेको इतिहासको उत्तर नै गलत त होइन ? भन्ने तिर गयो ।
त्यसपछि शिवजीले सर्लाहीका पत्रकार महासंघ अध्यक्षलाई फोन गर्नुभयो । उताबाट पनि जंगबहादुरको मृत्यु सर्लाहीमा भएको र अन्त्येष्टि गरिएको राजघाट पनि सर्लाहीमै रहेको बताइयो ।
हामी रौतहटबाट सर्लाहीतिर लाग्यौँ । इतिहासको एउटा प्रचलित तथ्य पछ्याउँदै हिँडेका हामी अब त्यसैको अर्को सम्भावित ठेगाना खोजिरहेका थियौँ । तर मनमा एउटा कुरा खट्किइरहेको थियो - यदि जंगबहादुरको मृत्युस्थल सर्लाहीमा हो भने रौतहटको पत्थरघट्टा भनेर हामीले पढेको कुरा कहाँबाट आयो ? त्यसको जवाफ कसैसँग थिएन ।
सर्लाहीको आत्मीयता र फहरदवामा खोजी
सर्लाही पुग्दा साँझ परिसकेको थियो । त्यहीँ बस्ने व्यवस्था मिल्यो, प्रदीप दाइको ससुरालीमा ।
उहाँको ससुरालीघर प्रवेश गरेपछि थाहा भयो–त्यो घर मात्रै होइन, निर्माण कम्पनीको क्याम्प पनि रहेछ ।
त्यहाँ प्रदीप दाइका जेठान राजेन्द्र आचार्यसँग भेट भयो । उहाँ सयौँ कामदार र प्राविधिकको नेतृत्व गर्दै सडक निर्माणमा व्यस्त हुनुहुँदो रहेछ । कमला-ढल्केबर-बागमती सडक निर्माणको काम उहाँकै नेतृत्वमा तीव्र गतिमा अघि बढेको रहेछ ।
प्रदीप दाइले बाटोभरि आफ्ना जेठानको प्रशंसा गरिरहनुभएको थियो । राजेन्द्र दाइको व्यवहार, कामप्रतिको लगाव र निर्माणप्रतिको दृष्टिकोणले हामीलाई प्रभावित बनायो । प्रदीप दाइले गर्नुभएको प्रशंसाभन्दा पनि उहाँ थप एकस्टेप माथिका हुनुहुँदो रहेछ ।
‘ठेकेदारले काम गरेन’ भन्ने गुनासो हामीले धेरै सुनेका छौँ । तर समयमै वा समयभन्दा अघि काम सकेर प्रशंसा र बोनस पाउने निर्माण कम्पनीका कथा कति सुनेका छौँ र ?
राजेन्द्र दाइले आफ्नो कम्पनी ‘रसुवा कन्स्ट्रक्सन’ले समयमै काम सम्पन्न गरेर बोनससमेत पाउने गरेको सुनाउनुभयो ।
तर सडक निर्माणको काम सहज भने रहेनछ । रुख काट्ने अनुमति लिन डेढ वर्ष लाग्ने । बिजुलीका पोल सार्न उत्तिकै झन्झट । डेढ वर्षको दौडधुपपछि पनि आधाजति पोल मात्रै सार्न सकिएको अवस्था । माटो भर्ने काममा सरकारी निकायबाटै अवरोध । त्यसमाथि सिमेन्ट, डन्डी र डिजेलको बढ्दो मूल्य ।
उहाँको एउटा वाक्यले मलाई छोयो- ‘काम त गरिँदैछ । तर सरकारले समस्या बुझिदिएन भने घर-जग्गा जाँदैछ, हजुर ।’
सायद यही हो ठेकेदारको जिन्दगी । सडक बनाउने मान्छेले सडकभन्दा बढी अवरोधसँग लड्नुपर्ने ।
प्रदीप दाइको ससुराली घरमा हामीले पाएको आत्मीयता, सम्मान र खानपान स्मरणिय रह्यो । चिया, मोही र खाना-जे खायौँ, असाध्यै स्वादिलो । त्यहाँबाट निस्किएपछि हामीले अन्यत्र जहाँ जे खायौँ, पहिलेको स्वादसँग तुलना हुन थाल्यो ।
‘मलाई मात्रै हो कि ?’ मैले अरू मित्रहरुलाई सोधेँ । सबैको अनुभव उस्तै थियो । सायद त्यो भान्सामा कुनै मोहनी थियो, वा पाहुनालाई सत्कार गर्ने उहाँहरूको शैली नै त्यस्तो थियो । ज्वाइँको सत्कारमा मिसिएका हामी पनि ज्वाइँसरह भएका थियौं ।
आतिथ्य, पारिवारिक भेटघाट र निर्माण क्षेत्रका दुःखसुखका कुरा गर्दै रात छिप्यिो । हाम्रो मूल काम भने बाँकी नै थियो । तर, सर्बगुणी राजेन्द्र दाइलाई पनि जंगबहादुरको मृत्यु स्थल थाहा रहेनछ । त्यसैले भोलिपल्ट बिहानै हामी चारजना मात्रै जंगबहादुरको मृत्युस्थल खोज्न निस्कियौँ ।
पत्रकार महासंघ सर्लाहीका अध्यक्षले दिएको सूचनालाई पछ्याउँदै हामी हरिपुर नगरपालिका-४, फहरदवा पुग्यौँ । यहाँ पनि प्रश्न उही थियो-जंगबहादुरको मृत्यु भएको भनिएको ठाउँ कहाँ छ ?
हामीले पढेलेखेका मानिसलाई सोध्यौँ । सुरक्षाकर्मीलाई सोध्यौँ । पसलेहरुलाई सोध्यौँ । तर जंगबहादुरको मृत्युसँग सम्बन्धित इतिहासबारे कसैलाई जानकारी थिएन । अन्ततः सशस्त्र प्रहरीको क्याम्पछेउमा एउटा मन्दिर भेटियो-जंगमुक्तेश्वर । सायद जंगबहादुरले मुक्ति प्राप्त गरेको ठाउँ ।
अब भने हामी रोकियौँ । जंगबहादुरको मृत्यु भएको भनिएको ठाउँमा जंगमुक्तेश्वर मन्दिर किन ? मन्दिरको नाम र जंगबहादुरको इतिहासबीच के सम्बन्ध छ ? सुरक्षाकर्मीको सहयोगमा हामीले वडाध्यक्ष सञ्जय साहलाई मन्दिर परिषर आउन अनुरोध गरिउँ । उहाँ आएपछि मन्दिरको स्थापना, नाम र ऐतिहासिक महत्वबारे जानकारी पाईयो ।
हामीले पढेको ‘पत्थरघट्टा’ अब फहरदवाको भूगोलसँग जोडिएको दाबीका रूपमा हाम्रो सामु थियो । तर त्यो दाबीलाई ऐतिहासिक प्रमाणका आधारमा पुष्टि गर्ने आधार चाहिँ के हो ? हामीलाई थाहा थिएन ।
जंगबहादुरको मृत्यु भएको भनिएको ठाउँसम्म पुग्नु र उनको मृत्यु त्यहीँ भएको ऐतिहासिक रूपमा प्रमाणित हुनु एउटै कुरा होइन । हामीले देखेको मन्दिर, स्थानीयबाट पाएको जानकारी र इतिहासका पुस्तकमा लेखिएको विवरणबीचको सम्बन्ध खुट्याउन थप अनुसन्धान आवश्यक थियो ।
जंगबहादुरको जीवन अनेक विवाद र रोचक प्रसंगले भरिएको छ । उनको निजी जीवन, विवाह, सिकार र शासनकालबारे विभिन्न विवरण पाइन्छन् । तर उनको मृत्युजस्तो महत्वपूर्ण घटनाको वास्तविक कारण स्पष्ट पार्न स्रोतहरूको तुलनात्मक अध्ययन आवश्यक देखिन्छ ।
हामीसँग प्रश्न धेरै थिए । अभाव थियो, ती प्रश्नको प्रमाणसहित उत्तर दिने जानकार व्यक्ति ।
मृत्यु भएको ठाउँ भेटियो, चिहान चाहिँ ?
फहरदवामा जंगबहादुरको मृत्यु भएको भनिएको स्थान पहिचान गरेपछि हामीलाई लाग्यो-अब चिहान पनि नजिकै होला । तर त्यहाँ चिहान रहेनछ । कारण, जंगबहादुरको अन्त्येष्टि त्यही ठाउँमा गरिएको थिएन ।
अब अर्को गन्तव्य थियो, राजघाट ।
सर्लाहीको भरतताल छेउबाट दक्षिणतिर लाग्नुपर्ने रहेछ । करिब १३ किलोमिटरको यात्रा । बाटोमा भरतताल, लालबहादुर चोक र माने हुँदै हामी काँसघारीतिर लाग्यौँ । त्यहीँ रहेछ राजघाट-जंगबहादुरको शव जलाइएको भनिएको ठाउँ ।
हामी पुग्दा त्यहाँ कुनै भव्य स्मारक थिएन । न ठूलो सूचना पाटी, न इतिहास बताउने संग्रहालय, न पर्यटकको भीड । जंगबहादुरको सम्झनामा उभिएको कुनै स्पष्ट चिनो पनि देखिएन । थियो त काँस फुलेको बगर । हामी केहीबेर त्यहीँ उभिइरह्यौँ ।
एउटा समयका शक्तिशाली शासक । नेपालको शासन प्रणालीमा गहिरो प्रभाव पार्ने व्यक्ति । इतिहासका पानामा बारम्बार दोहोरिने नाम । तर उनको अन्तिम संस्कार गरिएको भनिएको ठाउँमा कुनै उल्लेखनीय स्मारक त के, नाम-निसान समेत देखिएन ।
त्यो दृश्यले मनमा अनेक प्रश्न जन्मायो । इतिहासमा ठूलो स्थान ओगटेको व्यक्तिको जीवनसँग सम्बन्धित स्थलको संरक्षण किन भएन ? त्यहाँ अन्त्येष्टि गरिएको भन्ने दाबीको आधार के हो ? त्यसलाई प्रमाणित गर्ने अभिलेख, पुराना दस्तावेज वा स्थानीय परम्पराको व्यवस्थित अध्ययन गरिएको छ कि छैन ?
राजघाटमा उभिएर मैले सोचेँ- हामीले सही इतिहास पढ्न पाएनौं ? कि इतिहास नै गोलमाल राखिएको हो ?
हाम्रो यात्रा भने खासै गहिरो अनुसन्धान गर्न सक्ने अवस्थामा थिएन । हामीले केही ठाउँ देख्यौँ, केही व्यक्तिसँग कुरा गरिउँ, केही सूचना पायौँ । तर जंगबहादुरको मृत्युस्थल र अन्त्येष्टिस्थलको ऐतिहासिक सत्य प्रमाणित गर्ने काम अझै बाँकी थियो ।
त्यसैले राजघाटबाट फर्किंदा चिहान भेटेको सन्तुष्टिभन्दा पनि अपूरो खोजीको अनुभूति बढी थियो ।
कहाँ छ, रौतहटको पत्थरघट्टा ?
दुई दिनको यात्राले हामीलाई जंगबहादुरको मृत्यु र अन्त्येष्टिसँग सम्बन्धित भनिएका केही स्थानसम्म पु¥यायो । तर हाम्रो मुख्य प्रश्नको उत्तर भेटिएन ।
जंगबहादुरले सिकारमा जाँदा त्यहाँ दुई महीना २० दिन बिताएका थिए रे । इतिहास अनुसार उनले विसं १९३३ मङ्सिर २५ गते काठमाडौं छाडेका थिए । सोही बर्षको फागुन १५ गते राखिएको शिकार क्याम्प उनको अन्तिम बन्यो ।
तर, हामीले खोजेको पत्थरघट्टा रौतहटमा भेटिएन । स्थानीय पुराना पत्रकार शिव पुरीलाई पनि त्यस्तो ठाउँको जानकारी थिएन । सर्लाही पत्रकार महासंघका अध्यक्षबाट पाएको सूचनाका आधारमा हामी फहरदवा र राजघाट पुग्यौँ । त्यहाँ जंगबहादुरको मृत्यु र अन्त्येष्टिसँग सम्बन्धित भनिएका स्थानबारे जानकारी पाइयो ।
तर यी स्थान नै ऐतिहासिक रूपमा प्रमाणित मृत्युस्थल र अन्त्येष्टिस्थल हुन् भन्ने निष्कर्षमा पुग्न हामीसँग पर्याप्त प्रमाण भएन ।
फहरदवाको जंगमुक्तेश्वर मन्दिर र राजघाटको ऐतिहासिक सम्बन्धलाई प्रमाणित गर्ने आधार के हुन् ? जंगबहादुरको मृत्यु र अन्त्येष्टिबारे समकालीन अभिलेख, पत्राचार, सरकारी दस्तावेज वा अन्य भरपर्दा स्रोत उपलब्ध छन् कि छैनन् ? यी प्रश्नको उत्तर खोज्न पाए हाम्रो यात्रा साँच्चिकै सार्थक हुने थियो ।
हामी वीरगञ्ज हुँदै सौराहा पुगेर रात बितायौँ । यात्रा सकिएको थियो, तर मेरो मन भने अझै सर्लाहीको फहरदवामै अड्किएको थियो-जंगमुक्तेश्वर मन्दिरको छेउमा । राजघाटको काँसघारीमा । अनि रौतहटमा नभेटिएको पत्थरघट्टाको प्रश्नमा ।
तर अन्त्यमा पत्थरघट्टा कहाँ छ भन्ने प्रश्नको जवाफसमेत नपाई फर्कियौँ ।