काठमाडौं । केम्सान भ्याली शाखाको आयोजनामा बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । २०८३ असोज २७ गते त्रिपुरेश्वरस्थित यूडब्ल्यूटीसी (UWTC) मा रहेको सन्डाउनमा आयोजित कार्यक्रम केम्सान भ्यालीका अध्यक्ष पुण्यप्रसाद नेपालको अध्यक्षता तथा केम्सान केन्द्रका अध्यक्ष शैलेश कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सुशील थापा, पूर्वअध्यक्षहरू धिरज थपलिया र सुरेश घिमिरेलगायत केन्द्रीय पदाधिकारीहरूको उपस्थिति थियो । कार्यक्रममा सहभागीहरूले चाडपर्वको शुभकामना आदानप्रदान गर्दै आपसी सम्बन्ध, सहकार्य र संस्थागत एकतालाई थप सुदृढ बनाउने विषयमा जोड दिएका थिए ।
केम्सान भ्यालीका कार्यसमिति सदस्य अमित कार्कीका अनुसार संस्था आफ्ना सदस्यहरूको हकहित संरक्षण तथा प्रवर्द्धनका लागि सक्रिय रूपमा काम गर्दै आएको छ । सदस्यहरूको हितसँगै सामाजिक सेवाका क्षेत्रमा पनि संस्थाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उनले बताए ।

उनका अनुसार भोटेकोसी बाढीपीडितको सहयोगका लागि संस्थाले प्रधानमन्त्री राहत कोषमार्फत १८ लाख ५० हजार रुपैयाँ बराबरका औषधि तथा सर्जिकल सामग्री सहयोग गरेको थियो ।
त्यसैगरी, केम्सान केन्द्रको २२औँ वार्षिकोत्सवका अवसरमा असोज २० गते त्रिपुरेश्वर प्लाजा परिसरमा आयोजित रक्तदान कार्यक्रममा संस्थाले ५० पिन्ट रगत संकलन गरेको थियो ।
सदस्यहरूको व्यावसायिक तथा सामाजिक हितलाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्वका गतिविधिलाई समेत निरन्तरता दिँदै आएको केम्सान भ्यालीले आगामी दिनमा पनि संस्थागत सहकार्य र सामाजिक सेवाका कार्यक्रमलाई अघि बढाउने जनाएको छ ।
