भक्तपुर । वडा नं. १० चित्तपोललाई बुधबार अपरान्ह भब्य समारोहबीच ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएसंगै सूर्यविनायक नगरपालिका सबै १० वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा बन्न सफल भएका छन् । नगर प्रमुख बाशुदेव थापाले वडाध्यक्ष शिवराम राउतलाई बालमैत्री स्थानीय शासनयुक्त वडा बन्न सफल भएको प्रमाणपत्र हस्तान्तरण गरेसंगै सूर्यविनायक नगरपालिका वडा नंं। १० बालमैत्री स्थानीय शासनयुक्त वडा बन्न सफल भएको हो ।
कार्यक्रमलाई सम्बोधनगर्दै नगरप्रमुख बासुदेव थापाले नौ वर्षे कालमा आफुले इमान्दारीपूर्वक काम गरेको बताउँदै नगरपालिकामा दुई दलका प्रतिनिधि निर्वाचिचत भएर आएपनि कसैलाई लाखा र कसैलाई पाखा नगरिएको बताए । आफुले सबैलाई समेटेर लगेकै कारण हालसम्मका सबै कार्यपालिका वैठक र सबै नगरसभाका निर्णय सर्वसम्वत रुपमा पारित भएको नगर प्रमुख थापाको भनाई थियो ।

नगर प्रमुख थापाले भने, ‘आजका बालबालिका भोलीका सम्पत्ति भएको महसुस गरेर नगरपालिकाले विगत वर्षदेखिनै बालबालिकाको अधिकार संरक्षण, सुरक्षित वातावरण निर्माण तथा स्थानीय विकास प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम गर्दै आएको छ ।‘ पहिलो पटक निर्वाचित भएर आउँदा नगरपालिकाका पूर्वीक्षेत्र गाउँ र पश्चिमक्षेत्र नगरजस्तो रहेको स्मरणगर्दै नगर प्रमुख थापाले पहिलो कार्यकालमा भौतिक निर्माणमा जोड दिएपनि पछिल्लो चरणमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, वातावरण, मानवीय विकास लगायतलाई प्राथमिकतामा राखिएको बताए ।


उपप्रमुख सरिता तिम्सिना भट्टराईले प्रत्येक वडालाई छुट्टाछुट्टै बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने कानुनी व्यवस्था तथा नीतिगत प्रावधानअनुसार सबै वडामा कार्यक्रम गरिएको बताइन । उपप्रमुख तिम्सिना भट्टराईले वडा–वडामा जिम्मेवारी र स्वामित्व स्थापित गर्न छुट्टाछुट्टै घोषणा गरिएको बताउँदै यो केवल औपचारिक घोषणामात्र नभएर बालबालिकाले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा, अवसर र वातावरण निर्माण गर्ने प्रतिबद्धता भएको जानकारी दिइन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले सबै वडाले बालमैत्री स्थानीय शासनका ५१ वटा सूचक पूरा गरेपछि बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको उल्लेख गर्दै विकास तथा सामाजिक समितिहरूमा बालबालिकाको अनिवार्य सहभागिता सुनिश्चित गरिएको बताए । यो घोषणासंगै नगरपालिकामा थप जिम्मेवारी बढेको बताउँदै आचार्यले बालबालिकाको अधिकार संरक्षण, सुरक्षित वातावरण निर्माण तथा स्थानीय विकास प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले वडा नं। १० लाई बालमैत्री घोषणा गरिएको जानकारी दिए ।

नगरपालिकाका प्रवक्ता तथा वडा नं। ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले बालबालिका र ज्येष्ठ नागरिकमैत्री स्थानीय शासन निर्माणका लागि नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद, नेतृत्व विकास, मनोरञ्जन तथा वातावरण संरक्षणका क्षेत्रलाई निरन्तर प्राथमिक्तामा राखेर वजेट बिनियोजन गर्दै आएको आएको बताए । बालबालिकाको पहिचान, सहभागिता र अधिकार संस्थागत गर्न नगरपालिकाले उल्लेखनीय उपलब्धि हासिल गरेको सापकोटाको दाबी थियो ।

वडा नं। १० का वडाअध्यक्ष बिवराम राउतले वडाले भौतिक निर्माणसंगै मानवीय विकासलाई केन्द्रमा राखेर अघि बढेका कारण यो उपलव्धी हात पार्न सफल भएको बताए । बालमैत्री स्थानीय शासनका आवश्यक सूचक तथा मापदण्ड पूरा गर्न वडाले विगत वर्षदेखि निरन्तर रूपमा जनशक्ति परिचालन, अनुगमन, मूल्याङ्कन तथा आवश्यक तयारीमा जुटेको बताउँदै वडाअध्यक्ष राउतले सबै सूचक पूरा भएको सुनिश्चित भएपछि मात्रै वडालाई औपचारिक घोषणा गरिएको जानकारी दिए ।

घोषणा कार्यक्रममा नगरका १० वटै वडाका अधिकांश वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, बाल क्लबका प्रतिनिधि, शिक्षक, बिद्यार्थी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । घोषणा समारोहमा बालबालिकाले गीत संगीत, नृत्य, नाटक, बक्तित्वकला, कविता वाचनका अलवा झाँकी तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । कार्यक्रममा बालबालिकाको समग्र विकास, संरक्षण र अधिकार प्रवद्र्धनमा योगदान पु¥याउने विभिन्न संघसंस्था तथा व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो ।
