भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ९ लाई बुधबार नंखेलमा आयोजीत भब्य समारोहबीच ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ । यससँगै नगरपालिकाका सबै १० वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा बन्न सफल भएका छन् ।
वडाध्यक्ष भगवान खत्रीको अध्यक्षतामा आयोजित घोषणा कार्यक्रममा नगरप्रमुख बासुदेव थापा, जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष सुजाता बाडे, उपप्रमुख सरिता तिम्सिना भट्टराई, नगरका १० वटै वडाका अधिकांश वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, बाल क्लबका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।कार्यक्रमको सुरुवातमै ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गर्नुको कारण खुलाउँदै वडा अध्यक्ष भगवान खत्रीले प्रतिवेदन पेश गरेका थिए ।

अध्यक्ष खत्रीका अनुसार बालमैत्री स्थानीय शासनका आवश्यक सूचक तथा मापदण्ड पूरा गर्न नगरपालिका विगत तीन वर्षदेखि निरन्तर रूपमा जनशक्ति परिचालन, अनुगमन, मूल्याङ्कन तथा आवश्यक तयारीमा जुटेको थियो । सबै सूचक पूरा भएको सुनिश्चित भएपछि मात्रै वडालाई औपचारिक घोषणा गरिएको उनले स्पष्ट पारे ।
वडाध्यक्ष खत्रीले वडा नं. ९ मा सञ्चालन भएका बालकेन्द्रित गतिविधि, उपलब्धि तथा प्रगति विवरण प्रस्तुत गर्दै वडामा १४ वटा बाल क्लब सक्रिय रहेको जानकारी दिए । उनका अनुसार बालबालिकाका चारवटै आधारभूत अधिकार सुनिश्चित गर्न विशेष प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिएको छ ।

अध्यक्ष खत्रीले वडाले बालमैत्री स्थानीय शासनका ५२ वटा सूचक पूरा गरेको उल्लेख गर्दै विकास तथा सामाजिक समितिहरूमा बालबालिकाको अनिवार्य सहभागिता सुनिश्चित गरिएको बताए । ‘बालमैत्री घोषणा अन्तिम उपलब्धि होइन, जनप्रतिनिधि, अभिभावक र समुदायको जिम्मेवारी अझ बढेको संकेत हो,’ उनले निश्कर्ष सुनाए ।
कार्यक्रममा नगरप्रमुख बासुदेव थापाले बालबालिकाको अधिकार संरक्षण, सुरक्षित वातावरण निर्माण तथा स्थानीय विकास प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले वडा नं। ९ लाई बालमैत्री घोषणा गरिएको जानकारी दिए । नगरप्रमुख थापाले आफ्नो कार्यकालमा सूर्यविनायक विकासको दोस्रो चरणमा प्रवेश गरेको उल्लेख गर्दै भने, ‘पहिलो चरणमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, वातावरणलगायतका भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दियौं ।

अब मानवीय विकासलाई केन्द्रमा राखेर अघि बढेका छौं । बालबालिका भविष्यका मात्र होइनन्, वर्तमानका पनि महत्वपूर्ण साझेदार भएकाले सबै वडालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरेका हौं । अब यसको दिगोपनाका लागि सम्पूर्ण समुदायको साथ आवश्यक छ ।’
जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष सुजाता बाडेले वडाले पूरा गर्नुपर्ने ५१ वटा राष्ट्रिय सूचक तथा नगरपालिकाले थप गरेको एक सूचक गरी सबै मापदण्ड पूरा गर्दै सूर्यविनायकका १० वटै वडा बालमैत्री घोषणा हुन सफल भएकोमा बधाई दिँदै यो उपलब्धि तथ्याङ्कमा सीमित नरही बालबालिकाको अधिकार व्यवहारमै स्थापित गर्ने अभियान भएको बताइन् । उनले भनिन्, ‘आजको घोषणा अन्तिम गन्तव्य होइन, यो जिम्मेवारीको सुरुआत हो । बालबालिकाले आफ्ना अधिकार व्यवहारमै अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नु नै हाम्रो साझा दायित्व हो ।’

उपप्रमुख सरिता तिम्सिना भट्टराईले प्रत्येक वडालाई छुट्टाछुट्टै बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने व्यवस्था कानुनी तथा नीतिगत प्रावधानअनुसार गरिएको स्पष्ट पार्दै नगरपालिकालाई एकैपटक घोषणा गर्नुपर्ने भन्ने धारणा भ्रमपूर्ण भएको बताइन् । उनले भनिन्, ‘वडा–वडामा जिम्मेवारी र स्वामित्व स्थापित गर्न छुट्टाछुट्टै घोषणा गरिएको हो । यो केवल औपचारिक घोषणा होइन, बालबालिकाले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा, अवसर र वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि हो ।’

नगरपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले बालबालिका र ज्येष्ठ नागरिकमैत्री स्थानीय शासन निर्माणका लागि नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद, नेतृत्व विकास, मनोरञ्जन तथा वातावरण संरक्षणका क्षेत्रमा निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले बालबालिकाको पहिचान, सहभागिता र अधिकार संस्थागत गर्न नगरपालिकाले उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरे ।

घोषणा समारोहमा बालबालिकाले नृत्य, नाटक, बक्तित्वकला, कविता वाचन, झाँकी तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । कार्यक्रममा बालबालिकाको समग्र विकास, संरक्षण र अधिकार प्रवद्र्धनमा योगदान पु¥याउने विभिन्न संघसंस्था तथा व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो ।
