विराटनगर । मोरङ प्रहरीले नेपाली कांग्रेसका नेता अभिषेक गिरीलाई कारागारभित्र अवैध असुली धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीले विराटनगरस्थित उनको निवासमा छापा मारेर नियन्त्रणमा लिएको हो ।
प्रहरीले बिहानैदेखि घर घेरा हालेर खानतलासीसमेत गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले शंकास्पद वस्तु राखिएको आशंकामा घरमा छापा मारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले घरबाट के–कस्ता सामग्री बरामद भएको भन्ने विवरण भने सार्वजनिक गरेको छैन ।
प्रहरीका अनुसार गिरीमाथि कैदीबन्दीबाट रकम असुली गरेको तथा भत्ता अपचलन गरेको आरोप छ । उनी यसअघि पनि विभिन्न आपराधिक गतिविधिसँग सम्बन्धित आरोपका कारण पटक–पटक विवादमा तानिएका थिए । अपहरण मुद्दामा कारागारमा रहेका बेला पनि उनी विभिन्न विवादमा मुछिएका थिए ।
कैद भुक्तानपछि कारागारबाट छुटेका गिरी पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।
यता, गिरीले भने आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजिएको दाबी गरेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।