काठमाडौं । लगातारको वर्षा, बाढीको जोखिम र सडक मर्मतका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका केही सडक खण्डमा सवारी आवागमन आंशिक तथा पूर्ण रूपमा अवरुद्ध भएको छ।
कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्गमा बाढीका कारण सडक प्रभावित भएको छ। हिजोदेखि समस्या देखिएको उक्त सडक हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। सो क्षेत्रमा वैकल्पिक सडकको व्यवस्था पनि गरिएको छ।
यस्तै, काभ्रेपलाञ्चोकको बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
उता, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ (महालक्ष्मी) हुँदै जाने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ (काठमाडौं) सडक खण्ड सडक मर्मतका कारण पूर्ण रूपमा बन्द रहेको छ। गत जेठ १५ गतेदेखि मर्मतका लागि बन्द गरिएको उक्त सडक आगामी एक महिनासम्म सञ्चालनमा नआउने प्रहरीले जनाएको छ।
मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढ्दै गएको भन्दै प्रहरीले लामो दूरीको यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
