पूर्वाञ्चल विश्वविद्यालयमा विश्वविद्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनबारे अभिमुखीकरण

पूर्वाञ्चल विश्वविद्यालयमा विश्वविद्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनबारे अभिमुखीकरण

शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • पूर्वाञ्चल विश्वविद्यालयमा विश्वविद्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनबारे अभिमुखीकरण

    काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो शैक्षिक, प्रशासनिक तथा वित्तीय प्रणालीलाई डिजिटल माध्यमबाट एकीकृत गर्ने उद्देश्यसहित विश्वविद्यालय व्यवस्थापन प्रणाली कार्यान्वयन प्रक्रिया अघि बढाएको छ ।

    पूर्वाञ्चल विश्वविद्यालयको अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा बिहीबार काठमाडौंमा सम्बन्धन प्राप्त कलेजहरूका लागि विश्वविद्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । अनुगमन तथा मूल्याङ्कन केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा। उत्तमकुमार रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। बिजुकुमार थपलिया प्रमुख अतिथि रहेका थिए । 

    उपकुलपति प्राध्यापक डा. बिजुकुमार थपलियाले अब विश्वविद्यालय केवल नयाँ प्रणालीको सुरुआतमा सीमित नरही डिजिटल, पारदर्शी, उत्तरदायी र प्रभावकारी संस्थाका रूपमा रूपान्तरण हुने ऐतिहासिक यात्रामा अघि बढेको बताए । उनले समयको माग, सूचना प्रविधिको तीव्र विकास तथा उच्च शिक्षामा बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक र वित्तीय गतिविधिलाई एउटै डिजिटल प्रणालीमा आबद्ध गर्ने उद्देश्यले विश्वविद्यालय व्यवस्थापन प्रणाली कार्यान्वयन गर्न लागिएको स्पष्ट पारे । 

    उपकुलपति प्राध्यापक डा। थपलियाका अनुसार यस प्रणालीमार्फत विद्यार्थी भर्ना, शैक्षिक अभिलेख, परीक्षा व्यवस्थापन, प्रशासनिक कामकारबाही, वित्तीय कारोबार, प्रतिवेदन प्रणाली तथा संस्थागत अनुगमनलाई एउटै डिजिटल माध्यममा सञ्चालन गरिनेछ । यसबाट सूचना प्रवाह छिटो हुने, तथ्याङ्क व्यवस्थापन व्यवस्थित बन्ने, निर्णय प्रक्रिया तथ्यमा आधारित हुने तथा सेवाग्राहीप्रतिको उत्तरदायित्व अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    उपकुलपति थपलियाले अनुगमन अब कागजी प्रतिवेदनमा मात्र सीमित नरहने उल्लेख गर्दै वास्तविक समयमै प्राप्त हुने तथ्याङ्कका आधारमा विश्वविद्यालयका शैक्षिक तथा प्रशासनिक गतिविधिको अवस्था मूल्याङ्कन गर्न सकिने बताए । उनले व्यवस्थापन प्रणालीको सफल कार्यान्वयनका लागि विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त सबै कलेजको सक्रिय सहभागिता, प्रतिबद्धता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रणालीलाई संस्थागत कार्यसंस्कृतिको अभिन्न अङ्गका रूपमा विकास गर्न आग्रह गरे । 

    कार्यकारी निर्देशक डा। रेग्मीले सूचना प्रविधिको प्रयोगमा विश्वविद्यालयले अग्रणी भूमिका खेलिरहेको उल्लेख गर्दै यस प्रणालीले विश्वविद्यालय र आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसबीचको समन्वय, पहुँच र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले काठमाडौं उपत्यका तथा पश्चिम क्षेत्रका सम्बन्धन प्राप्त क्याम्पसका लागि आयोजना गरिएको यो अभिमुखीकरणपछि विराटनगरमा पूर्वी क्षेत्रका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसका लागि पनि यस्तै एकदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जानकारी गराए । 

    कार्यक्रममा कार्यकारी निर्देशक डा। रेग्मीले अभिमुखीकरणको उद्देश्यबारे जानकारी गराउँदै विश्वविद्यालय व्यवस्थापन प्रणालीको आवश्यकतामाथि प्रकाश पारेका थिए । प्रणाली विकासमा संलग्न प्राविधिक टोलीले व्यवस्थापन प्रणालीको प्रयोगसम्बन्धी प्रत्यक्ष प्रदर्शनसमेत गरेको थियो ।

    काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, चितवन, वीरगञ्ज, भैरहवा, नेपालगञ्जलगायत विभिन्न स्थानका करिब ७० वटा सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजका प्रमुख एवं प्रतिनिधिसहित करिब १४० जनाको कार्यक्रममा सहभागिता रहेको विश्वविद्यालयले जनाएको छ ।

    कार्यक्रममा विज्ञान तथा प्रविधि संकायका डिन नवीनकुमार भट्टराई, चिकित्साशास्त्र संकायका डिन डा। श्याम मल्लिक, उपकुलपतिका सल्लाहकार दिनेशराज सुवेदी, सहपरीक्षा नियन्त्रक मेनुका श्रेष्ठ, मुख्य अधिकृत विनय भट्टराई, वरिष्ठ अधिकृत विभूषिता अर्याल तथा पिउक्यानका अध्यक्ष सुधीर गुरागाईंलगायतको उपस्थिति रहेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij