सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

आइतवार, आषाढ ७ २०८३
आइतवार, आषाढ ७ २०८३
  • सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    काठमाडौँ ।  प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाहले वर्तमान सरकार ‘एक्स्प्रेस’ गाडी भएकाले गन्तव्यमा पुगेपछि मात्रै राकिने बताएका छन् ।
     
    रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चितवनको भरतपुरमा सम्बोधन गर्दै उनले कतिपय राजनीतिक पार्टीहरुले सरकारको गति अनियन्त्रित हुने त होइन भनी गरेको टिप्पणीप्रति लक्षित गर्दै भने, “हाम्रो सरकार ‘एक्स्प्रेस वे’मा गुडिरहेको गाडी हो, यो गन्तव्यमा पुगेर ब्रेक लाग्छ, अनियन्त्रित छैन ।”
     
    महाधिवशेनको उद्घाटन सत्रमा शुभकामना दिने क्रममा केही राजनीतिक दलका नेताले दिएको सुझावलाई पार्टीले गम्भीर रुपले लिएको जनाउँदै प्रधानमन्त्री शाहले अहिलेको जनमतलाई स्वीकार गर्न आग्रह गरे । रास्वपाको वैचारिक दृष्टिकोणका बारेमा चिन्ता नलिन आग्रह गर्दै उहाँले रास्वपा विकासवादी पार्टी भएको बताए । “रास्वपा काम गर्ने पार्टी हो, प्रतिशोध साँध्ने पार्टी होइन, पुराना कुरालाई लिएर निहुँ खोज्ने पार्टी होइन”, उनले भने ।
     
    सरकारी सम्पत्ति र रकम दोहन भएको अवस्थामा विद्यमान सरकार कठोर ढङ्गबाट प्रस्तुत हुने उनको भनाइ थियो । प्रधानमन्त्री शाहले भन्नुभयो, “सरकारले नियमकानुन मिच्दैन, नियममै बसेर काम गर्छ, नियमभन्दा बाहिर जाँदैन, हामी निहुँ खोज्ने पार्टी होइन ।”
     
    ‘हाम्रो भूमिको प्रमाण हामीसँग छ’

    प्रधानमन्त्री शाहले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको स्पष्ट पार्दै ती भूभाग नेपालकै भएको प्रमाण सरकारसँग रहेको बताए ।

    “हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ, तर ब्रिटिसकालीन शासनका समयमा यससम्बन्धी कुनै प्रमाण छ भने सहयोग लिन खोजेका हौँ”, उनले भने, “हामी छिमेकीसँग आफैँ कुरा गरेर सीमासम्बन्धी विषय मिलाउँछौँ, हामीसँग हाम्रो भूभाग रहेको प्रमाण छ । त्यसमा आशङ्का लिनु पर्दैन ।” आफ्नो राष्ट्रियताप्रतिको दृष्टिकोणमा कसैले पनि आशङ्का मान्नु नपर्नेमा उनको प्रष्टीकरण थियो ।
     
    ‘पार्टीमा गुट, उपगुट नगरौँ ’

    वरिष्ठ नेता शाहले पार्टीको महाधिवेशनमा गुट उपगुट बनाउने पुराना पार्टीका अभ्यासलाई रास्वपाले स्थान नदिने बताए । “राम्रो नेता र राजनीतिज्ञ बन्नलाई जनताको माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन, समूह बनाउनेतर्फ नलाग्नुहोला, त्यो बिउ अहिले नै नरोप्नु, कि भोलि त्यो रुख बनेर बीचबाट फाँड्नु नपरोस्  । हामीले पुरानाहरुबाट यो सिक्नुपर्छ”, उनले भने ।   

    उनले रास्वपा नयाँ पार्टी भएकाले नयाँ सोचका साथ अघि बढेको स्पष्ट पार्नुभयो । “हामीले यही कार्यकालमा सुकुमबासी र सहकारी ठगीसम्बन्धी समस्या समाधान गर्छौँ । आगामी  चुनावमा यही ‘एजेण्डा’ बोकेर जाँदैनौँ, अब नयाँ एजेण्डा लिएर जान्छौँ”, प्रधानमन्त्रीले भने ।
     
    अहिले रास्वपाको सरकार भएकाले हरेक मन्त्री, सांसद, पदाधिकारी, केन्द्रीय सदस्य, कार्यकर्ता र जनता नै प्रधानमन्त्री भएको उनको भनाइ थियो । पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिँदै उनले भने, “आज, भोलि र पर्सी पार्टीका बारेमा सोचौँ, त्यसपछाडि पाँच वर्ष देशका बारेमा सोचौँ ।”

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij