बागमतीबाट जित्ने कांग्रेसका एक्ला सांसद इन्जिनीयर मोहन आचार्य

बागमतीबाट जित्ने कांग्रेसका एक्ला सांसद इन्जिनीयर मोहन आचार्य

बुधवार, फाल्गुण २७ २०८२
बुधवार, फाल्गुण २७ २०८२
  • बागमतीबाट जित्ने कांग्रेसका एक्ला सांसद इन्जिनीयर मोहन आचार्य

    काठमाडौं । बागमती प्रदेशभरबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य जित्ने एक्ला सांसद ईन्जिनीयर मोहन आचार्य बनेका छन् । 

    जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते सम्पन्न गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर कमजोर नतिजा निकालेको कांग्रेसले बागमती प्रदेशमा एक सिटमात्र जित्न सफल भएको हो । 

    बागमती प्रदेशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवारका पक्षमा नतिजा आएको बेलामा रसुवा जिल्लाबाट १० हजार ६५६ मतका साथ इन्जिनीयर आचार्यले तेस्रोपटक सांसद बनेर ह्याट्रिक गरेका हुन् । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका बसन्त भट्टले पाँच हजार ५७१ मत प्राप्त गरे । 

    बागमती प्रदेशभरका ३३ क्षेत्रमध्ये ३१ क्षेत्रमा रास्वपा, एक क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी र एक क्षेत्रमा कांग्रेसको उम्मेदवार निर्वाचित भएका हुन् । उक्त प्रदेशमा नेकपा (एमाले)ले भने जीत हाँसिल गर्न सकेन । 

    रसुवाको उत्तरगया गाउँपालिकास्थित लहरेपौवामा विस २०३३ सालमा जन्मिएका इन्जिनीयर आचार्य विस २०४८ सालमा विद्यार्थी राजनीतिमा आवद्ध भएका थिए । उनी कांग्रेसको गत पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । 

    आचार्य विस २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भइसकेका छन् । विस २०७४ मा तत्कालिन नयाँ शक्ति पार्टी र विस २०७९ मा तत्कालिन नेकपा (माओवादी केन्द्र)सँग गठबन्धन हुँदा निर्वाचित भएका थिए । 

    सञ्चारकर्मीसँग कुरा गर्दै सांसद आचार्यले नेपाली कांग्रेसले विशेष महाधिवेशन नगरेको भए अहिलेभन्दा पनि खराब नतिजा आउने बताए । “नेपाली कांग्रेसले विशेष महाधिवेशन नगरेको भए मैलेपनि जित्ने अवस्था रहँदैनथ्यो, पार्टी बदलिएर निर्वाचनमा गएकाले मैले सहजै जित हात पार्न सफल भयाँ,”– उनले भने । 

    आचार्यले आफू र आफ्नो पार्टी नेपाली कांग्रेसले आगामी दिनमा संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij