काठमाडौं । लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले शनिबारसाँझ ललितपुरबाट पक्राउ गरेको हो।
नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको प्रहरी उच्च श्रोतले जनाएको छ । चाेलेन्द्र प्रकरणमा पक्राउ परेका इनम सापकोटासँग जोडिएपछि भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउपछि उनको मोबाइलबाट प्राप्त सूचनाका आधारमा सापकोटा पक्राउ परेका थिए । हिरासतमै रहेका उनीमाथि प्रहरीले छानविन गरिरहेको छ ।
एक उच्च प्रहरी अधिकारीका अनुसार सापकोटाको बयान र उनको मोबाइलबाट प्राप्त सूचनाका आधारमा भट्ट पक्राउ परेका हुन् ।
सुशील भट्ट सम्पत्ति सुद्धिकरण मुद्दा खेपिरहेका दीपक भट्टका दाई हुन् । दीपकलाई चोलेन्द्र पक्राउ प्रकरण लगत्तै ललितपुरको नख्खु कारागारबाट सिन्धुपाल्चोक सारिएको छ ।
सुशील भट्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।