३० वर्ष मुनिका युवा सांसद : प्रत्यक्षतर्फ ९ जना निर्वाचित

३० वर्ष मुनिका युवा सांसद : प्रत्यक्षतर्फ ९ जना निर्वाचित

सोमवार, फाल्गुण २५ २०८२
सोमवार, फाल्गुण २५ २०८२
  • ३० वर्ष मुनिका युवा सांसद : प्रत्यक्षतर्फ ९ जना निर्वाचित

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा ३० वर्ष वा सोभन्दा कम उमेरका नौ जना युवा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार यीमध्ये अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी भएका छन् भने एक जना श्रम संस्कृति पार्टीका तर्फबाट संसद पुगेका छन्।

    निर्वाचन परिणामअनुसार कैलाली–२ बाट २६ वर्षीय केपी खनाल र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ बाट २६ वर्षीय मनिष खनाल निर्वाचित भएका छन्। त्यसैगरी रूपन्देही–२ बाट २८ वर्षीय सुलभ खरेल, सिराहा–१ बाट २८ वर्षीय बब्लु गुप्ता तथा झापा–१ बाट २९ वर्षीया निशा डाँगी विजयी भएका छन्। चितवन–३ बाट सोविता गौतम, काठमाडौं–१ बाट रञ्जु न्यौपाने, सिराहा–२ बाट शिवशंकर यादव र सप्तरी–२ बाट रामजी यादव ३० वर्षको उमेरमै संसदमा प्रवेश गरेका छन्।

    त्यस्तै ३० वर्ष मुनिका युवामध्ये रास्वपाका प्रशान्त उप्रेती, केपी खनाल, मनिष खनाल, बब्लु गुप्ता, सस्मित पोखरेल, सुलभ खरेल र निशा डाँगी निर्वाचित भएका छन् भने खोटाङ–१ बाट श्रम संस्कृति पार्टीका आरेन राई पनि विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य बन्न कम्तीमा २५ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ।

    यसपटकको निर्वाचनले संसदमा युवा पुस्ताको उल्लेख्य उपस्थिति देखाएको छ। विशेषगरी जेन–जी पुस्ताका प्रतिनिधिहरू प्रत्यक्ष निर्वाचनमार्फत संसदमा पुगेपछि नयाँ राजनीतिक सोच, पारदर्शिता र वैकल्पिक नेतृत्वको बहस थप बलियो हुने अपेक्षा गरिएको छ। समानुपातिकतर्फको अन्तिम परिणाम आएपछि अझ केही युवा सांसद संसदमा पुग्ने सम्भावना रहेको बताइएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij