फोहरलाई स्रोतमा रूपान्तरण गर्दै नेप्सेम्याक: सहर सफा बनाउने हातहरू सम्मानित

फोहरलाई स्रोतमा रूपान्तरण गर्दै नेप्सेम्याक: सहर सफा बनाउने हातहरू सम्मानित

शनिवार, माघ २४ २०८२
शनिवार, माघ २४ २०८२
  • फोहरलाई स्रोतमा रूपान्तरण गर्दै नेप्सेम्याक: सहर सफा बनाउने हातहरू सम्मानित

    काठमाडौं । तीव्र सहरीकरणसँगै बढ्दो फोहर व्यवस्थापन नेपालका प्रमुख शहरी चुनौतीमध्ये एक हो । काठमाडौं उपत्यका जस्ता सहरहरूमा दैनिक उत्पादन हुने सयौँ टन फोहरको वैज्ञानिक व्यवस्थापन बिना स्वच्छ, स्वस्थ र सुन्दर सहरको कल्पना गर्न सकिँदैन । यही चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने लक्ष्यका साथ निजी क्षेत्रबाट अघि बढेको संस्था हो - नेप्सेम्याक सेवा प्रा.लि. ।

    नेप्सेम्याक सेवा प्रा.लि. विगत एक दशकभन्दा बढी समयदेखि ठोस फोहर व्यवस्थापन, सार्वजनिक सरसफाइ र वातावरणीय स्वास्थ्यका क्षेत्रमा सक्रिय रहँदै आएको छ । घर–घरबाट फोहर संकलन, ढुवानी, फोहर छुट्याउने (सेग्रिगेसन), रिसाइकल तथा कम्पोष्ट मल उत्पादनजस्ता काममार्फत संस्थाले स्थानीय तहहरूसँग सहकार्य गर्दै दिगो फोहर व्यवस्थापन प्रणालीको विकासमा योगदान पुर्‍याउँदै आएको छ । विशेषतः काठमाडौं उपत्यकामा महानगरपालिका र अन्य स्थानीय निकायहरूसँग मिलेर काम गर्दै आएको नेप्सेम्याकले फोहर व्यवस्थापनलाई केवल सफाइको विषय मात्र नभई वातावरणीय जिम्मेवारी र सामाजिक सचेतनासँग जोडेर अघि बढाइरहेको छ ।

    काठमाडौं उपत्यकाबाट दैनिक करिब ६ सय टन फोहर उत्पादन हुने तथ्यांक आफैँमा चुनौतीपूर्ण छ । नेप्सेम्याकका अनुसार संकलित फोहरमध्ये करिब ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने फोहर रहेको छ । कुहिने फोहरमध्ये केही हिस्सा कम्पोष्ट मल उत्पादनमा प्रयोग गरिँदै आएको छ, जसले फोहरलाई स्रोतमा रूपान्तरण गर्ने अवधारणालाई व्यवहारमा उतार्न सहयोग पुर्‍याएको छ । यद्यपि, विद्यमान ऐन–कानुन र संरचनागत जटिलताका कारण अपेक्षाअनुसार काम गर्न अझै चुनौतीहरू रहेको संस्थाको भनाइ छ ।

    यही दीर्घ यात्रामा योगदान पुर्‍याउने आफ्ना कर्मचारीहरूको भूमिकालाई कदर गर्दै नेप्सेम्याक सेवा प्रा.लि.ले आज वार्षिक सद्भाव भेला तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।

    ललितपुर–४ बागडोल दोभानस्थित म्याग्दी मगर समाजको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा रक्तदान, कर्मचारी क्षमता अभिवृद्धि, उत्कृष्ट कर्मचारी सम्मान तथा बनभोज कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा संस्थाले विभिन्न शाखामा कार्यरत १९ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ ।

    nepsemac.jpg

    भक्तपुर शाखामा कार्यरत सवारी चालक धनबहादुर गोलेलाई सर्वोत्कृष्ट कर्मचारीका रूपमा सम्मान गर्दै सम्मानपत्रसहित १५ हजार १०५ रुपैयाँ नगद प्रदान गरिएको छ । अन्य १८ जना कर्मचारीलाई पनि सम्मानपत्रसहित जनही ७ हजार ५०५ रुपैयाँ नगद प्रदान गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले फोहर व्यवस्थापनमा नेप्सेम्याकको भूमिकाको प्रशंसा गर्दै महानगर र संस्थाबीचको सहकार्यबाट सकारात्मक नतिजा देखिन थालेको उल्लेख गरे । काठमाडौंलाई सफा, व्यवस्थित र सुन्दर सहर बनाउन महानगरपालिका निरन्तर सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।

    संस्थाका अध्यक्ष टीकाराम दाहालले संस्थाको स्थापनादेखि हालसम्मका गतिविधि स्मरण गर्दै फोहर व्यवस्थापनमा कर्मचारीहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले नीति, कानुन र व्यवहारबीचको दूरी घटाउँदै प्रभावकारी फोहर व्यवस्थापन प्रणाली निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

    कार्यक्रममा ललितपुर जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले नेप्सेम्याकसँग विगत लामो समयदेखि सामाजिक सेवा र सरसफाइका क्षेत्रमा सहकार्य गर्दै आएको उल्लेख गरे । आगामी दिनमा पनि ललितपुरलाई सफा र सुन्दर बनाउन नेपाल प्रहरीको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे ।

    नेप्सेम्याकका मुख्य संयोजक लक्ष्मीप्रसाद गेलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष सन्तोष खड्काले शुभकामना मन्तव्य व्यक्त गरे भने सञ्चालक बाबुराम घिमिरेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, सामाजिक अभियन्ता र नेप्सेम्याकका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    कार्यक्रमकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा नेप्सेम्याकको आयोजना तथा ब्लड बैंक पुल्चोक र नेपाल रेडक्रस सोसाइटी वडा नं. ४ उपशाखाको प्राविधिक सहयोगमा ५१ जनाले रक्तदान गरेका छन् । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारासहित आयोजित कार्यक्रममा ७८ जनाले स्वास्थ्य परीक्षणसमेत गराएका थिए । रक्तदातालाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

    फोहर व्यवस्थापनको कठिन र प्रायः उपेक्षित क्षेत्रमा काम गर्दै आएका कर्मचारीहरूको योगदानलाई सम्मान गर्दै नेप्सेम्याकले आयोजना गरेको यो कार्यक्रमले सरसफाइलाई केवल दायित्व होइन, सामाजिक जिम्मेवारीका रूपमा हेर्ने सन्देश दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij