भक्तपुर । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न सक्ने जनशक्ति उत्पादन हुनु पर्ने बताएका छन् । सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको ४८ औं वार्षिकोत्सव कार्यक्रमलाई सोमबार सम्बोधनगर्दै प्रधान सेनापति सिग्देलले महाविद्यालयले हासिल गरेको उल्लेखनीय उपलब्धीको संरक्षण गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्नु पर्नेमा जोड दिए ।
विद्यार्थीले ज्ञानसंगै ग्रहण गरेका मूल्य मान्यतालाई आत्मासात गर्दै देशको उज्जवल भविश्यको आधार निर्माण गरि समाज र राष्ट्रप्रतिको उत्तरदायित्व, सामाजिक सेवा, जिम्मेवार नागरिक बन्ने दृढ संकल्पका साथ महाविद्यालयले आधुनिक, गुणस्तरीय, जीवनउपयोगी शिक्षा प्रदान गर्ने विश्वास सिग्देलको थियो । नयाँ पुस्तालाई पनि इमान्दारिता, समाज र राष्ट्रको विकासका लागि जिम्मेवार नागरिक बनाउनु पर्नेमा जोड दिदै सिग्देलले सैद्धान्तिक शिक्षा मात्र नभई कर्मभूमि प्रति समर्पित नागरिक तयार पार्ने शिक्षा दिनु पर्नेमा जोड दिए ।

सो समारोहमा उत्कृष्ठ विद्यार्थीहरुलाई ज्यास्मिन स्मृति पुरस्कार, गेहेन्द्र शमसेर थापा स्मृति पुरस्कार प्रदान गर्नुका साथै उत्कृष्ठ शिक्षक एवं कर्मचारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा महाविद्यालयका प्राचार्य दलबहादुर पुनले सैनिक कल्याणकारी कोषबाट सञ्चालित महाविद्यालयको स्थापनाको ४८ औं वार्षिकोत्सवसम्म आईपुग्दा विद्यालय शिक्षामा उत्कृष्ठ नतिजाहरु हासिल गर्नुका साथ अतिरिक्त क्रियाकलाप र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा समेत टेवा पुर्याएको बताए ।

महाविद्यालयका प्रमुख व्यबस्थापक अधिकृत एवं सहसेनानी शिवप्रसाद पौडेलले गुुणस्तरीय शिक्षामा लामो इतिहास यस महाविद्यालयले राष्ट्रको लागि आवश्यक एवं देशले गर्व गर्न लायक जनशक्ति उत्पादन गरिरहेको बताए । महाविद्यालयले शैक्षिक गुणस्तरसंगै बिभिन्न अतिरिक्त क्रियाकलापमा समेत अब्बल नतिजा हात पारिरहेको बताउदै पौडेलले विद्यालयमा अक्षयकोषको स्थापना गरी बिभिन्न रचनात्मक कार्य गरिरहेको जानकारी दिए ।

कार्यक्रममा विद्यार्थीहरुले शास्त्रीय चर्या नृत्य, राष्ट्रिय सेवा दलको देशभक्तिपूर्ण नृत्य, तेक्वाण्डो खेल प्रदर्शनी, महाविद्यालयको अकेस्ट्रा समूहको प्रस्तुती तथा विभिन्न साँस्कृतिक नृत्य एवं गायनहरु प्रस्तुत गरेका थिए । प्रधान सेनापति सिग्देलले विद्यार्थीको चित्रकला प्रर्दशनी, विज्ञान प्रर्दशनीलगातका अवलोकन गर्नुका साथै महाविद्यालयले प्रकाशन गरेको स्मारिका सल्लाघारीको विमोचनसमेत गरेका थिए ।