काठमाडौं । काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । बागमती, गण्डकी र तराईका जिल्लामा आज बिहानदेखि मौसम खुल्ने अपेक्षा गरिएकोमा केही लम्बिएको छ । काठमाडौंमा बिहानैदेखि पानी पर्ने र रोकिने क्रम चलिरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिजोजस्तो ठूलो पानी पर्ने सम्भावना छैन । दिउँसोसम्म काठमाडौं र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहने र त्यसपछि मौसममा क्रमिक सुधार हुने सम्भावना छ ।
दिउँसोपछि मौसममा क्रमिक सुधार भए पनि आज घाम लाग्ने सम्भावना कम छ । भोलिदेखि पश्चिम र मध्य क्षेत्रका धेरै ठाउँमा घाम लाग्ने र त्यसपछि मौसम घमाइलो हुने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायू, अरब सागरमा विकसित प्रणाली र मोन्था चक्रवातको समेत प्रभावले केही दिनयता वर्षा र हिमपात भैरहेकोमा गएरातिदेखि क्रमिक सुधार हुन थालेको हो । आज कोशी प्रदेशका थोरै ठाउँमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै ठाउँहरुमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।