काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । बैठकमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधि सहभागी हुनेछन्।
गृहमन्त्री अर्यालले कार्यभार सम्हालेपछि समितिको गठन गरेका हुन् । समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्यका रूपमा रहेका छन् भने उपसचिव रवीन्द्र अधिकारी सदस्य सचिवका रूपमा छन्।
समितिले तयार पारेको सुरक्षा योजना प्रत्येक जिल्लामा कार्यान्वयनका लागि पठाइनेछ। जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को नेतृत्वमा गठन हुने जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले योजनाको कार्यान्वयन जिम्मेवारी लिनेछ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकारले सुरक्षा रणनीति निर्माणलाई तीव्रता दिएको छ। सरकारले निर्वाचनलाई मुख्य राष्ट्रिय प्राथमिकतामा राख्दै सम्पूर्ण गतिविधि त्यसैमा केन्द्रित गरेको छ ।