काठमाडौं । नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्म ऋण बापत ५३ करोडभन्दा बढी रकम भुक्तानी गरेको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ जहाजका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमध्ये दुई न्यारोबडी जहाजको किस्ता पूरा तथा दुई वाइडबडी जहाजको आंशिक किस्ता गरी कुल ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो ।
निगमका प्रवक्ता सुवास डाँगीका अनुसार वर्तमान व्यवस्थापनले जिम्मेवारी सम्हालेपछि जहाज खरिदसम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत अहिलेसम्म कुल आठ अर्ब ४५ करोड २४ लाख १८ हजार ६५७ रुपैयाँ किस्ता रकम भुक्तानी गरिएको छ ।
कोभिड–१९ महामारीका कारण निगमको व्यापारमा परेको असरका कारण सो अवधिको ब्याजको ब्याज, हर्जाना र ‘पेनल’ छुटका लागि तथा किस्ताको सङ्ख्या वृद्धि गरी भुक्तानी प्रक्रिया सहज बनाउन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग सहयोगको आग्रह गरिएको पनि निगमले जनाएको छ ।
यसैबीच, निगमको काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं सेक्टरमा सञ्चालन भएको दोस्रो नियमित उडानमा समेत यात्रुहरूको उत्साहजनक सहभागिता देखिएको प्रवक्ता डाँगीले जानकारी दिए ।