काठमाडौँ महाननगरपालिकाका सामुदायिक विद्यालयमा ‘हिजोको नेपाल’ फोटो प्रदर्शनी

काठमाडौँ महाननगरपालिकाका सामुदायिक विद्यालयमा ‘हिजोको नेपाल’ फोटो प्रदर्शनी

मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • काठमाडौँ महाननगरपालिकाका सामुदायिक विद्यालयमा ‘हिजोको नेपाल’ फोटो प्रदर्शनी
    काठमाडौँ । काठमाडौँ महाननगरपालिकाभित्रका सामुदायिक सामुदायिक विद्यालयमा ‘हिजोको नेपाल’ नामक फोटो प्रदर्शनी सुरु भएको छ । कामपा र नेपाल फोटो फाउन्डेसनको सहकार्यमा विद्यार्थीलाई लक्षित गरी नेपालका पुराना फोटा प्रदर्शनी सुरु गरिएको हो ।
     
    फाउन्डेसनका संयोजक जीवन नेपालका अनुसार सोमबार बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयबाट फोटो प्रदर्शनी सुरु गरिएको छ । नेपालको शिक्षा, यातायात, संस्कृति, चाडपर्व, दैनिक जीवनयापनका विविध पक्ष, ऐतिहासिक घटनाक्रम, नेपाली मुद्रा तथा सिक्का, विश्वसम्पदा तथा प्रकृतिकस्थललगायत विधाका दुई सय ८० भन्दा बढी फोटा प्रदर्शनीमा समावेश गरिएका उनले जानकारी दिए । 
     
    प्रदर्शनीले विद्यार्थीमा नेपाली समाजको रुपान्तरण एवं पुस्तान्तरणमा देखिएका परिवर्तन तुलनात्मक रूपमा बुझ्न र अध्ययन गर्न मद्दत मिल्ने अपेक्षा आयोजक संस्थाले लिएको छ । “असी वटा फोटाहरू पहिले र अहिले शीर्षकमा प्रदर्शनीमा राखिएका छन् । समावेश भएकामध्ये ६३ फोटा नेपाली नागरिकले खिचेका हुन् भने बाँकी विदेशी नागरिकले खिचेका हुन्”, नेपालले भने ।
     
    हिजोको नेपाल नाम दिइएको सो प्रदर्शनीमा विसंं १९२० देखि हालसम्म खिचिएका तस्वीर समावेश गरिएको कार्यक्रम संयोजक नेपालले बताए। फोटो फाउन्डेसनले विगत एक दशकदेखि नेपालका पुराना फोटा सङ्कलन गरी प्रदर्शनी सञ्चालन गर्दै आएको छ ।
     
    उक्त कार्यक्रम ज्ञानोदय मावि बाफल, विश्वनिकेतन मावि त्रिपुरेश्वर, रत्न राज्यलक्ष्मी मावि बानेश्वर, शिवपुरी मावि बालुवाटार र कन्या मन्दिर मावि न्योखामा सञ्चालन हुने उनले जानकारी दिए । पहिलो दिन सोमबार ज्ञानोदय माविमा विद्यार्थीले चाखपूर्वक पुराना फोटाहरूको अवलोकन गरेका उनको भनाइ छ ।
     
    यसपछि सो कार्यक्रम विश्वनिकेतन माविमा सञ्चालन हुनेछ । जेठ महिनाभित्र कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको नेपाल फोटो फाउन्डेसनले जनाएको छ । उल्लेखित विद्यालयमा उक्त प्रदर्शनी सकिएपछि अन्य विद्यालयमा पनि उक्त कार्यक्रम सञ्चालन गर्ने तयारी छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij