काठमाडौं । मन्त्रिपरिषद बैठक आज बुधबार राति ८ बजे बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकले गभर्नर सिफारिस गर्न गठित समितिका सदस्य डा. विश्व पौडेलको राजीनामा स्वीकृत गरी नयाँ सदस्य नियुक्त गर्ने संभावना रहेको छ।
पौडेलको राजीनामासँगै गभर्नरमा उनकै नाम चर्चामा छ। राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष समेत रहेका पौडेललाई कांग्रेसले गभर्नरमा प्रस्ताव गरेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने समझदारी भएको थियो।
सोही समझदारीका आधारमा भट्टले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए। तर, राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि सभापति देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गरेको कांग्रेस स्रोतको भनाई छ।