नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका छन् । नवलपरासीको बर्दघाट सुस्तापूर्व नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रातीदेखि रोकिएका सवारी साधन वैकल्पिक बाटो हुँदै सञ्चालनमा ल्याइएको हो।
गए राति पुल भाँचिएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पुल भाँचिएपछि रोकिएका सवारी अहिले वैकल्पिक बाटो हुँदै पठाउने कार्य गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पश्चिमतर्फ छुटेका सवारी चोरमारा बजारबाट दक्षिणतर्फ लागी तम्सरिया गाउँ हुँदै खोला तरेर रानीटारबाट फूलबारी–भिउरान हुँदै अरुणखोलास्थित राजमार्ग निस्किरहेका छन् । खोलामा पानी नभएका कारण सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालनमा समस्या नभएको प्रहरीको भनाई छ ।
पश्चिमबाट पूर्वका लागि छुटेका सवारी चोरमारास्थित फूलबारीबाट दक्षिणतर्फ रानीटार, तम्सरिया गाउँ हुँदै चोरमारास्थित राजमार्गमा निस्कन थालेका छन् । ठूला लरीहरू भने मोड नपुग्ने कारण उक्त बाटोबाट सञ्चालनमा रोक लगाइएको छ ।
भाँचिएको पुलबाट पूर्ण रूपमा सवारी आवतजावत गर्न रोक लगाइएको छ । पुल तत्काल सञ्चालन हुने सम्भावना नभएको प्रहरीको भनाई छ । गए राति क्लिङकर बोकेको ट्रक पुल तर्दैगर्दा पुल भाँचिएको थियो।