यारी भन्सार कार्यालयद्वारा सात लाख राजस्व सङ्कलन

यारी भन्सार कार्यालयद्वारा सात लाख राजस्व सङ्कलन

सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • यारी भन्सार कार्यालयद्वारा सात लाख राजस्व सङ्कलन

    हुम्ला । यहाँको उत्तरी हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयले रु सात लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ । 

    आर्थिक वर्ष २०८१/२०८२ सकिन अझै दुई महिना बाँकी हुँदा रु सात लाख रुपैयाँ राजस्व सङ्कलन गरेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । कार्यालयको यो आर्थिक वर्षमा रु ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको भए पनि हालसम्म रु सात लाख सङ्कलन भइसकेको प्रमुख जैसीले बताए । स्थायी कर्मचारी आफू एकजना मात्रै भए पनि कार्यालयको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको उनको भनाइ छ । 

    छिमेकी मुलुक चीनबाट आयातित हुने जुत्ताबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको छ । हिल्सा नाका नभएर  नेपाल आयात हुने जुत्ता, पिजी, ब्लाङ्केट, जुस, चकलेट, सिमेन्ट, सरियालगायतका सामानबाट राजस्व सङ्कलन गरिएको भन्सार कार्यालय प्रमुख जैसीले बताए । चालु आर्थिक वर्षभित्र अझै राजस्व थप हुने अनुमान गरिएको छ । 

    हिल्सा नाका भएर विभिन्न सामग्री आयात गर्ने यहाँका नियमित दश जना व्यापारी छन् । उनीहरुले एक वर्षमा दुई पटकसम्म चीनबाट सामान ल्याउने गरेका छन् । व्यापारीहरुले एक पटक ल्याएको विभिन्न सामानबाट रु ४५ हजारसम्म राजस्व तिर्ने गर्ने गरेका छन् ।  
        
    चीनमा काम गर्न गएका कामदारले रु १५ हजारसम्मको घरायसी सामान ल्याउनेलाई राजस्व छुट दिइएको छभने त्यसभन्दा माथिको मूल्यका सामान ल्याउनेबाट राजस्व लिने गरिएको छ । 

    चीनबाट हिल्सासम्म सामान ल्याउन साना व्यापारीले कामदार पठाउने गरेका छन् । ठूला व्यापारीले उतैबाट सामान सिल गरेर गाडीमार्फत हिल्सासम्म ल्याउने गरेको उनले बताए । 

    यस नाकाबाट आर्थिक वर्ष २०८०/८१ मा रु २२ लाख राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७९/८० मा भने रु १४ लाख राजस्व सङ्कलन भएको थियो । यारी नाका भन्सार कार्यालय वर्षको छ महिना मात्रै सञ्चालन हुने गरेको छ । हिउँदयाममा हिमपात भएर नाका छ महिना बन्द हुने र छ महिना खुल्ने गरेको छ । यही वैशाख १३ गतेदेखि यारी नाका भन्सार कार्यालय सञ्चालनमो छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij