काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउदै गरेको बा४ख ३३६३ नम्बरको ‘टिपर’ दुर्घट्नामा परेको हो ।
उकालोमा ‘ब्याक’ भई अनियन्त्रित हुँदा ‘टिपर’ करिब एक सय मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । गत चैत ३१ गते मण्डनदेउपुर–२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र बालुवा ‘अनलोड’ गर्ने क्रममा बा२क ३४६४ नम्बरको ‘टिपर’ डिलबाट खसेर दुर्घटना हुँदा ३१ वर्षीय चालक विनोद घोरासैनीको मृत्यु भएको थियो ।