काठमाडाैं । भारत–पाकिस्तानबीच उत्पन्न भएको तनावका कारण नेपाल–भारत सीमामा सुरक्षा व्यवस्था कडा पारिएको छ । पछिल्लो क्षेत्रीय सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा १ हजार ८४४ स्थानमा चेकप्वाइन्ट राखी कडाइका साथ निगरानी गरेको छ ।
सशस्त्र प्रहरी बलका अनुसार पछिल्लो ४८ घण्टामा भारतसँगको सीमामा ३१२ वटा गस्ती सञ्चालन गरिएको छ । यसमध्ये ८४ वटा संयुक्त गस्ती भारतीय सशस्त्र सीमा बल (एसएसबी)सँग सहकार्यमा गरिएको छ भने २२८ वटा गस्ती नेपाली पक्षबाट एकल रूपमा गरिएको छ ।
गस्तीको विवरण अनुसार वैशाख २३ गते २० वटा, वैशाख २४ गते १६ वटा र वैशाख २५ गते ४८ वटा संयुक्त गस्ती गरिएको थियो । एकल गस्ती क्रमशः ८९, ६४ र ७५ वटा गरिएको छ ।
उक्त अवधिमा सीमा क्षेत्रमा ५६४, ६४० र ६४० गरी जम्मा १ हजार ८४४ स्थानमा चेकजाँच गरिएका छन् ।
सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समन्वय गरी सूचना आदान–प्रदान तथा आवतजावतमा निगरानी कडाइ गरिएको छ ।
यद्यपि परम्परागत रूपमा हुने सीमा आवतजावतमा असहज नहोस् भनेर सहजता प्रदान गर्ने प्रयास पनि भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । साथै शहरी क्षेत्रमा पनि सुरक्षाको आवश्यकता रहेका स्थानहरूमा निगरानी बढाइएको छ ।