काभ्रेबाट काठमाडौं फर्काइए ४९ रोहिङ्ग्या शरणार्थी

काभ्रेबाट काठमाडौं फर्काइए ४९ रोहिङ्ग्या शरणार्थी

बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • काभ्रेबाट काठमाडौं फर्काइए ४९ रोहिङ्ग्या शरणार्थी

    काभ्रेपलाञ्चोक । यहाँको धुलिखेल नगरपालिका–१२ शङ्खुमा केही दिनदेखि बस्दै आएका म्यानमारका रोहिङ्ग्या शरणार्थीलाई आज काठमाडौँ फर्काइएको छ । 

    स्थानीय जनप्रतिनिधि तथा प्रहरीले ११ परिवारका ४९ जना रोहिङ्ग्या शरणार्थीलाई फर्काइएको हो । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले गत सोमबार साँझदेखि उक्त स्थानमा बसेका उनीहरु काठमाडौंस्थित कपनबाट आएकाले उतै फर्काइएको जानकारी दिए । उनका अनुसार प्रहरी, वडाध्यक्ष मोहनप्रसाद लामिछाने तथा स्थानीयको रोहबरमा फिर्ता पठाइएको हो । 

    यसअघि विसं २०७६ माघमा पनौती नगरपालिका–३ कुशादेवीमा १० परिवारका १३ बालबालिकासहित ३४ रोहिङ्ग्या शरणार्थीले टहरा बनाएर बसेका थिए । एक सय ४० जना शरणार्थी बस्नेगरी टहरा बनाउन लागेको अवस्थामा स्थानीयले अवरोध गरेपछि उनीहरु उक्त ठाउँ छाडेर लसुनटार फर्किएका थिए । 

    काठमाडाैंको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटार र राममन्दिर क्षेत्रका टोलमा म्यानमारबाट आएका रोहिङ्ग्या शरणार्थी बस्दै आएका छन् । ती दुई स्थानमा करिब १४ रोपनी जमिनमा करिब ४०० शरणार्थी रहेको अनुमान गरिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij