काठमाडौँ । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेका छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै गुरुङले त्यस्तो माग गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८२÷८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै गुरुङले उक्त माग गरेका हुन् । सांसद गुरुङले भ्रष्टाचारको अन्त्य गर्दै सुशासनका निम्ति २०४६ सालयता लाभ पदमा पुगेका सबै नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग गरेका हुन् ।
नेपाली कांग्रेसका उपसभापति समेत रहेका गुरुङले प्रमुख प्रतिपक्षी दलका नेता एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले एक दिन अघि उठाएकै माग उठाउँनुलाई धेरैले अर्थपुर्ण रुपमा लिएका छन् । त्यस्तो आयोगले अध्ययन गरेपछि सम्पत्तिको स्रोत नखुलेमा त्यस्तो सम्पत्ति जफत हुनुपर्ने गुरुङको भनाइ छ ।
सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि प्रस्तुत नीति तथा कार्यक्रमको स्वागद गर्दै सहमतिका आधारमा संशोधन गर्नुपर्नेमा गुरुङले जोड दिए । गुरुङले संविधान संशोधनका निम्ति सर्वदलीय समिति गठन गरिनुपर्ने माग समेत गरे।
उपसभापति गुरुङले सरकार गठनका क्रममा राजनीतिक दलबीच समन्वय, आपसी संवाद, सहकार्य र सहमति भए जस्तै देशको विकासका निम्ति पनि दलहरुबीचको सहकार्य गर्नुपर्नेमा जोड दिए । “फरक पार्टी वा फरक विचार हुँदैमा शत्रुतापूर्ण व्यवहार नगरौँ, हाम्रो साझा शत्रु गरिबी हो, गरिबीको विरुद्ध लागौँ,” गुरुङले थपे ।