काठमाडाैं । नागढुङ्गा–नौबिसे सडकखण्ड अन्तर्गत पर्ने नागढुङ्गा–पिप्लामोड सडक वैशाख २२ गतेदेखि १० दिनसम्म आंशिक रूपमा बन्द गरिने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजनाको पूर्वी खण्डले जानकारी दिएको अनुसार मर्मत कार्यका लागि प्रत्येक रात ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमनमा रोक लगाइनेछ । यो व्यवस्था वैशाख २२ गतेदेखि ३१ गतेसम्म लागू हुनेछ ।
काठमाडौंबाट बाहिरिने सवारी साधन नागढुङ्गा चेकपोस्टमा रोकिनेछ भने नौबिसेबाट काठमाडौं प्रवेश गर्ने गाडीलाई खत्रीपौवा पुलमा रोकिनेछ । यी सवारीहरूलाई बिहान ३ बजेपछि मात्र अगाडि जान दिइनेछ ।
साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था पनि गरिएको छ । वैकल्पिक रूपमा प्रयोग गर्न सकिने मार्गहरू हुन्:
१. सितापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक
२. सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली (बेत्रावती)–गल्छी मार्ग
यातायातमा हुने असहजतालाई कम गर्न वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ ।
