काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ । सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि शिक्षामन्त्री रजुजी पन्तले निर्णयहरू सार्वजनिक गरेका हुन् ।
लामो समयदेखि आन्दोलनरत महासंघ र सरकारबीच सहमति भएपछि २९ दिनदेखि ठप्प पारिएको शैक्षिक गतिविधि पुनः सुरु हुने भएको छ । सहमति भएसँगै महासंघले आन्दोलन फिर्ता लिएको छ भने बिहीबारदेखि सामुदायिक विद्यालयहरूमा पठनपाठन र विद्यार्थी भर्ना कार्य सुचारु हुने शिक्षा मन्त्रालयले जनाएको छ।
बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा मन्त्री रघुजी पन्त र शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता सम्पन्न भएको थियो । सो वार्तामा गृहमन्त्री रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेको समेत सहभागिता थियो । वार्तापछि बनेको सहमति पत्रमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले हस्ताक्षर गरेका छन् । मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले उक्त सहमतिको अनुमोदन गरेको शिक्षामन्त्री पन्तले जानकारी दिए ।
सहमतिमा विद्यालय शिक्षा ऐन २०८२ असार १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गर्ने विषय पनि समेटिएको छ । प्रमुख सचेतकहरू र प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिले विधेयक पारित गर्ने लिखित प्रतिबद्धता दिएको शिक्षक महासंघले जनाएको छ । महासंघले यसैका आधारमा आन्दोलन स्थगन गरिएको स्पष्ट पारेको छ ।
सहमतिअनुसार शिक्षक र विद्यालय कर्मचारीलाई निजामती अस्पतालहरूमा सहुलियतमा उपचारको व्यवस्था गरिनेछ । अस्थायी शिक्षकलाई बिरामी बिदा सञ्चित गर्न दिने, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, ग्रेड समायोजन गर्ने, बालविकास शिक्षकलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने जस्ता व्यवस्था पनि समावेश छन् । यी व्यवस्था कार्यान्वयन गर्न सरकारलाई वार्षिक ८ अर्ब रुपैयाँको आर्थिक भार थपिने शिक्षामन्त्री पन्तले बताएका छन् ।
शिक्षक महासंघले आन्दोलन स्थगनको घोषणा गर्दै सबै विद्यालयमा पठनपाठन, विद्यार्थी भर्ना तथा परीक्षा सम्बन्धी सम्पूर्ण कार्य यथाशीघ्र सुरु गर्न अनुरोध गरेको छ । साथै, तोकिएको म्यादभित्र विद्यालय शिक्षा ऐन पारित नभए आन्दोलन पुनः तीव्र पारिने चेतावनी पनि दिएको छ । महासंघले २०८१ माघ २० देखि चरणबद्ध रूपमा आन्दोलन गर्दै आएको थियो भने चैत २० पछि काठमाडौं केन्द्रित सडक प्रदर्शनमा उत्रिएको थियो ।
सरकारसँगको सहमति र मन्त्रिपरिषदबाट निर्णय भइसकेका मागहरूको कार्यान्वयन आजदेखि लागू हुने गरी सबै आन्दोलनका कार्यक्रम स्थगित गरिएको महासंघले जनाएको छ ।
यी हुन् ९ बुँदे सहमति
१) शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।
२) अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।
३) प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने ।
४) आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।
५) स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।
६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।
७) नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।
८) नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।
९) निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।