काठमाडौं । ललितपुरको बाँडेगाउँस्थित एक सुधारगृहमा राखिएका व्यक्तिको मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–७ घर भएका ४८ वर्षीय दावा घिसिङको शनिबार राति निधन भएको हो ।
विश्वास नेपाल रिह्याब सेन्टरमा राखिएका घिसिङलाई स्वास्थ्य समस्या देखिएपछि बाँडेगाउँस्थित नमस्ते मेट्रो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । अस्पताल पुगेपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
मृत्युपछि घिसिङका आफन्तले घटनामा शंका व्यक्त गर्दै प्रहरीमा जानकारी गराएका थिए । त्यसपछि प्रहरी टोलीले अनुसन्धान थालेको हो । घटनाबारे अनुसन्धानका क्रममा सुधारगृह सञ्चालकसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१२ स्थायी घर भई हाल तीनकुने बस्ने ४५ वर्षीय सञ्चालक सुजन महर्जन, ३४ वर्षीय कर्मचारी भाष्कर बुढाथोकी र ४५ वर्षीय कर्मचारी अनुज नेपाल रहेका छन् ।
घटनासम्बन्धी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक घिसिङको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण पुष्टि हुने प्रहरीले जनाएको छ ।
हाल ललितपुर प्रहरी परिसर र प्रहरी प्रभाग बाँडेगाउँले संयुक्त रुपमा अनुसन्धान अघि बढाइरहेका छन् ।