काठमाडौं । काठमाडौं महानगरपालिकाले तत्कालीन नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आइतबार शोक बिदा दिने भएको छ । शनिबार प्रशासन विभागले सूचना प्रकाशित गर्दै आइतबार महानगरपालिका र मातहतका सबै कार्यालय अत्यावश्यक सेवा बाहेक बन्द रहने जानकारी गराएको हो ।
वि.सं. २००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थिए । उपचारका क्रममा मिर्गौलामा समस्या देखिएपछि डाइलाइसिस गराइँदै आएको थियो । गत बिहीबार पनि डाइलाइसिस गरिएको थियो । स्वास्थ्यकर्मीहरूका अनुसार मिर्गौलाको अवस्था एक्कासी जटिल बन्दै गएपछि शुक्रबार उनको निधन भएको हो ।
डंगोलले उपप्रधानपञ्चको जिम्मेवारीमा रहेर काठमाडौं शहरको निर्माण, शहरी व्यवस्थापन, प्रवर्द्धन तथा सामाजिक सेवामार्फत महत्वपूर्ण योगदान दिएका थिए । यही योगदानको कदर गर्दै काठमाडौं महानगरपालिकाले शोक बिदाको निर्णय गरेको जनाएको छ ।
महानगरपालिकाले डंगोलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।