काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकजना पुरुषमाथि कुटपिट गरेको घटनामा संलग्न चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएको छ ।
सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा ट्राफिक प्रहरीले एक पुरुषलाई कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि कार्यालयले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना गत मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि भएको थियो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता दिपक गिरीले बिहीबार जारी गरेको जानकारी अनुसार कुटपिटमा संलग्न जनसेवा ट्राफिक प्रहरी वृत्तका चार जना प्रहरीलाई जिम्मेवारीबाट हटाई कार्यालयमा झिकाइएको छ । उनीहरुमाथि आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए ।
