काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको ज्यान गएको छ । सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा आज बिहान फुङलिङ नगरपालिका–१० को सेवारो चोकमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।
मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमति ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् ।
सो घटनामा परी थप २ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीमबहादुर दाहालले जानकारी दिए । घाइते हुनेमा ललितपुरको ललितपुर महानगरपालिका १० बस्ने ४५ वर्षीया सबिना आचार्य र उनको १० वर्षीय छोरा भबिमय आचार्य रहेका छन् । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै छ ।