काठमाडौं । पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा अहिले मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
वर्षाका कारण हवाई उडानसमेत प्रभावित भएको छ ।
रुकुमपश्चिमको सदरमुकाम मुसिकोट, सल्यानको सल्यान बजार, दाङको घोराही, बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, दैलखको कट्टी, बर्दियाको गुलरिया, रोल्पाको लिवाङ र आसपासका क्षेत्रमा पानी परिरहेको छ ।
केही समयपछि यो प्रणाली पूर्वतिर (लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई क्षेत्र) सर्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै वर्षा दैलेखको कट्टीमा २०.६ मिलिमिटर वर्षा भएको छ । एक घण्टायता भने सबैभन्दा धेरै घोराही र सल्यान बजारमा ७.४ मिलिमिटर वर्षा मापन भएको छ ।
पानी परिरहेका कतिपय जिल्लामा डम्म कुहिरो समेत लागेकाले भिजिबिलिटी कम छ । खराब मौसमका कारण आज बिहान पश्चिम नेपाल केही एयरपोर्ट हवाई उडान समेत प्रभावित भएको थियो ।
साथै, आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मेघगर्जन/चट्याङ्ग, वर्षा लगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।