काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको छ। नयाँ मूल्य २०८२ बैशाख ३ गते बिहान १२:०१ बजेदेखि लागू हुनेछ।
नयाँ मूल्य अनुसार अब पेट्रोल क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँमा उपलब्ध हुनेछ। यसअघि यी मूल्यहरू क्रमशः १६० रुपैयाँ ५० पैसा, १६२ रुपैयाँ र १६३ रुपैयाँ थिए।
त्यस्तैगरी, डिजेल र मट्टितेलको मूल्य पनि घटाइएको छ। अब यी इन्धनहरू क्रमशः १४३ रुपैयाँ ५० पैसा, १४५ रुपैयाँ र १४६ रुपैयाँमा पाइनेछन्, जुन पहिले १४६ रुपैयाँ ५० पैसा, १४८ रुपैयाँ र १४९ रुपैयाँ थियो।
नेपाल आयल निगमका अनुसार मूल्य समायोजनको निर्णय भारतको इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा गरिएको हो। नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ १५ पैसा र डिजेलमा २ रुपैयाँ ६२ पैसाले मूल्य घटेर आएको थियो।
निगम सञ्चालक समितिको निर्णयअनुसार मूल्य समायोजन गरिएकाले उपभोक्ताहरूले राहत महसुस गर्ने अपेक्षा गरिएको छ। निगमले इन्धन वितरणमा सहजता, शुद्धता र पारदर्शितालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।
