‘नगरकोट भ्रमण वर्ष २०८२’ सुरु, राष्ट्रपतिद्वारा औपचारिक रुपमा उद्घाटन

‘नगरकोट भ्रमण वर्ष २०८२’ सुरु, राष्ट्रपतिद्वारा औपचारिक रुपमा उद्घाटन

सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • ‘नगरकोट भ्रमण वर्ष २०८२’ सुरु, राष्ट्रपतिद्वारा औपचारिक रुपमा उद्घाटन

    भक्तपुर । नगरकोट क्षेत्रको संस्कृति, प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्वलाई उजागर गर्दै ‘नगरकोट भ्रमण वर्ष २०८२’ को औपचारिक सुरुवात गरिएको छ । चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाको संयुक्त पहलमा आयोजित भ्रमण वर्षको उद्घाटन सोमबार नगरकोटको बतासे डाँडामा राष्ट्रपति रामचन्द्र पौडेलले गरे ।

    उद्घाटन समारोहमा पर्यटनमन्त्री बद्री पाण्डे, चारै नगरपालिकाका प्रमुखहरू, संघीय सांसद, प्रदेश मन्त्री, जनप्रतिनिधिहरू र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । स्वागत मन्तव्य चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले राख्दै भ्रमण वर्षको उद्देश्य तथा योजनाहरू प्रस्तुत गरे ।

    राष्ट्रपति पौडेलले पर्यटन, कृषि, ऊर्जा, जलस्रोत, सूचना प्रविधि र उद्योगधन्दालाई नेपालको आर्थिक विकासका मुख्य आधार बनाउनु पर्नेमा जोड दिए । उनले नगरकोटलाई शान्त वातावरणमा समय बिताउन चाहनेहरूको प्रमुख गन्तव्यका रूपमा चित्रण गर्दै चारै नगरपालिकाबीच सहकार्य र पूर्वाधार विस्तार अनिवार्य भएको बताए ।

    आयोजक अनुसार शङ्खरापुर बाहेक अन्य तीन नगरका स्थानीयको उल्लेखनीय सहभागिता रह्यो ।

    IMG_9212.jpg

    भ्रमण वर्षका लक्ष्य र योजना
    भ्रमण वर्षको प्रमुख उद्देश्य एक वर्षभित्र १० लाख आन्तरिक र १ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउनु हो । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीका अनुसार, वर्षभर विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय भेषभूषा, परिकार, जातीय विविधता, कला र सम्पदाको प्रदर्शन गरिनेछ ।

    पर्यटन विज्ञ घनश्याम खतिवडाले भ्रमण वर्ष सफल बनाउन मूल समिति र विभिन्न उपसमितिहरू गठन गरिएकाे जानकारी दिए । उद्घाटन समारोहको सञ्चालन पनि खतिवडाले गरेका थिए । कार्यक्रममा अध्यक्षता मण्डनदेउपुर नगरपालिकाका मेयरले गरे भने धन्यवाद ज्ञापन बनेपाका मेयरले गरे ।

    समारोहमा होमस्टे विस्तार, सांस्कृतिक झाँकी, परिकार स्टल, कृषि सामग्रीको प्रदर्शनी तथा गुरुङ समुदायको संग्रहालय पनि देखाइएको थियो ।

    चारवटै नगरपालिकाले आ–आफ्नो क्षेत्रअनुसार छुट्टाछुट्टै कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएका छन् । पर्यटकलाई स्थानीय संस्कृति चिनाउने, नजिकका गन्तव्यमा लैजाने, परिकार चखाउने र उनीहरूको बसाइ लम्ब्याउने प्रयास गरिने चाँगुनारायण–६ का वडा अध्यक्ष धनबहादुर तामाङले बताए । नगरकोट क्षेत्र चाँगुनारायणको ६ नं. वडामा पर्दछ ।

    IMG_9163.jpg

    पर्यटनको उत्साहजनक शुरुवात
    भ्रमण वर्षसँगै नगरकोटमा पर्यटकहरूको चहलपहल बढेको छ । नयाँ वर्ष र भ्रमण वर्षको अवसरमा यहाँका होटलहरू पाहुनाले भरिएका छन् । वडा अध्यक्ष धनबहादुर लामाका अनुसार, सुरुवात निकै उत्साहजनक छ ।

    भ्रमण वर्षको मूल लक्ष्य नगरकोटको समग्र विकास गर्दै स्थानीय सम्पदालाई पर्यटनसँग जोड्नु रहेकाे मेयर जीवन खत्रीले जानकारी दिए । उनले पर्यटन पूर्वाधारको सुदृढीकरण, विशेष गरी सडक स्तरोन्नति, अत्यावश्यक रहेको बताए । उनका अनुसार, नगरकोट जाने आधा दर्जनभन्दा बढी सडकहरू छन् र तीमध्ये केहीको स्तरोन्नतिको काम चाँडै सुरु गरिनेछ ।

    IMG_9243.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij