सडक मानवको सहयोगार्थ लगाइएको महायज्ञमा ८० लाख संकलन

सडक मानवको सहयोगार्थ लगाइएको महायज्ञमा ८० लाख संकलन

बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • सडक मानवको सहयोगार्थ लगाइएको महायज्ञमा ८० लाख संकलन

    भक्तपुर । भक्तपुरको राधेराधेमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ २०८१ बाट ८० लाख रुपैयाँ संकलन गरिएको छ । बेवारिसे तथा असहाय सडक मानवहरूको सहयोगका लागि मानव कल्याण समाजले चैत २१ गतेदेखि आयोजना गरेको यस महायज्ञमा संस्थाकी संस्थापक अध्यक्ष सुमी देवी मानवले कथा वाचन गरेकी थिइन् ।

    महायज्ञबाट संकलित रकम मानव कल्याण समाजको भवन निर्माणमा खर्च गरिने महायज्ञ मूल आयोजक समितिका संयोजक गोपीकृष्ण न्यौपानेले जानकारी दिए । त्यस्तै, महायज्ञमा कबोल भएको रकम पूर्ण रूपमा नगदमा प्राप्त भएको समितिका कोषाध्यक्ष नरेश रंजितले जानकारी दिए । संकलन भएकाे कुल रकममध्ये २५ लाख १८ हजार ७ सय रुपैयाँ खर्च भएको र महायज्ञपछि ५५ लाख २५ हजार १६ रुपैयाँ जोगिएको रंजितले जानकारी दिए ।

    कथा वाचिका सुमी देवी मानवले भने आफूले कुनै पारिश्रमिक नलिएको बताउँदै समितिबाट प्राप्त १ लाख रुपैयाँ दक्षिणा र कथा वाचनका क्रममा भक्तजनले चढाएको ७६ हजार रुपैयाँ समेत संस्थालाई नै हस्तान्तरण गरेकी छिन् । 

    3.jpg

    महायज्ञको क्रममा स्थानीय तहहरूले जग्गा व्यवस्थापन गर्ने तथा बागमती प्रदेश सरकारले भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । समितिका सचिव बेद खरेलका अनुसार जनप्रतिनिधिहरूको समर्थनले संस्थालाई थप ऊर्जा मिलेको छ ।

    २०७४ सालमा स्थापना भएको मानव कल्याण समाजले बेवारिसे सडक मानवहरूको उद्धार, सरसफाइ, स्वास्थ्य उपचार, पुनर्मिलन र काउन्सिलिङ लगायतका सेवाहरू दिँदै आएको छ । केही वर्षअघि भक्तपुरमा बेवारिसे व्यक्तिहरूको संख्या उच्च रहेपनि संघको पहलमा अहिले सडकमा यस्ता व्यक्तिहरूको संख्या घटेको छ । उद्धार गरिएका व्यक्तिहरूलाई झौखेलस्थित अस्थायी आश्रयस्थलमा राखिँदै आएको छ ।

    2.jpg

    संस्थापक सुमी मानवका अनुसार, २०७२ सालदेखि चाउचाउ, बिस्कुट र पानी बाँड्ने सानो प्रयासबाट सुरु भएको सेवा अभियानले हालसम्म २१ सयजना बेवारिसे मानवको उद्धार गरिसकेको छ । हाल संघका भक्तपुर, काभ्रे, काठमाडौं, बारा र दाङमा शाखाहरू स्थापना भइसकेका छन् र पाँच सयभन्दा बढीलाई आश्रय दिइँदै आएको छ ।

    महायज्ञबाट संकलित सहयोगले सेवाहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउने र दीगो रूपमा ती मानवहरूको लागि जग्गा खरिद तथा स्थायी आवास निर्माणमा प्रयोग गरिने संघकी अध्यक्ष मानवले बताइन् । महायज्ञ चैत २७ गते बुधबारका दिन सम्पन्न भएको हो ।

    1.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij