काठमाडौं । नेपाल सरकारले भूकम्प प्रभावित म्यान्मारलाई करिब २७ टन बराबरको राहत सामग्री सहयोगस्वरूप पठाएको छ। बुधबार एक १६ सदस्यीय टोली राहत सामग्रीसहित म्यान्मारतर्फ प्रस्थान गरेको हो।
टोलीले म्यान्मार सरकारका प्रतिनिधिलाई राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। निजी क्षेत्र र सरकारको संयुक्त पहलमा यो सहयोग पठाइएको हो।
गत शुक्रबार म्यान्मारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको थियो, जसबाट तीन हजारभन्दा बढीको मृत्यु भएको थियो।
म्यान्मार सरकारले आवश्यक सामग्रीको सूची उपलब्ध गराएको थियो, जसअनुसार खाद्यान्न, औषधि लगायतका सामग्री राहत स्वरूप पठाइएका छन्। यसअघि नै नेपाली सेनाको चिकित्सक टोली म्यान्मार पुगिसकेको छ।